महामारीमा महालुट मच्चाउने ह्याम्स र केएमसी अस्पताललाई कारबाही गर्ने चेतावनी !

महामारीमा महालुट मच्चाउने ह्याम्स  र केएमसी अस्पताललाई कारबाही गर्ने चेतावनी !

काठमाडौं, २२ वैशाख । कोरोना महामारीको मौका छोपेर चर्को शुल्क असुली गर्ने नीजि अस्पताललाई स्वास्थ्य मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएको छ । निजि अस्पतालहरुको शुल्कको विषयमा चौतर्फी प्रश्न उठेपछि मन्त्रालयले कारबाहीको चेतावनी दिएको हो ।


राजधानीको केएमसी अस्पताल र ह्याम्स अस्पतालले मनोमानी शुल्क असुल्दै आएको विषयमा सामाजिक सञ्जालमा चौतर्फी विरोध भएको थियो । स्वास्थ्य मन्त्रालयले निजी अस्पतालले चर्को शुल्क लिए वा ठगी गरे स्थानिय प्रशासनलाई जानकारी गराउन समेत सुचित गरेको छ । चर्को शुल्क लिने अस्पतालबारे मन्त्रालयले अनुगमन समेत थालेको सुचनामा उल्लेख छ ।

‘महामारीको यो संकटमा हामीले एकले अर्कालाई सेवाभावले सहयोग गर्नुपर्नेमा अनावश्यक दुख दिने, समस्या बढाउने कार्यप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ,‘यस किसिमले अनावश्यक शुल्क लिने लगायतका गैह्र कानुनी गतिविधि गर्ने जुनसुकै व्यक्ति वा संस्था उपर यस्ता गतिविधि नगर्नु नगराउनु हुन सचेत गराइन्छ । साथै सर्वसाधरण सबैमा यस्ता गतिविधिहरु पाइएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्थानिय प्रशासनहरुमा जानकारी गराइदिनु हुन अनुरोध गर्दै यस किसिमको गतिविधिमा मन्त्रालयको नियमित अनुगमन भइरहेको तथा नियमानुसार कडा भन्दा कडा कारबाही समेत गरिने व्यहोरा सबैमा जानकारीका लागि अनुरोध छ ।’

Trending News