एजेन्सी, २४ बैशाख । माल्दिभ्समा बिहीबार साँझ भएको बिस्फोटमा परी पूर्वराष्ट्रपति तथा अहिलेको संसदका सभामुख मोहमद नसिद घाइते भएका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार नसिद घरबाट बाहिर निस्केर गाडी चढ्न लाग्दा स्थानीय समयअनुसार राति साढे ८ बजे बिस्फोट भएको थियो ।
उनको गाडीनजिकै पार्किङ गरिएको अर्को दुई पांग्रे सवारीमा बिस्फोटक पदार्थ जडान गरिएको देखिएको छ।
बिस्फोटमा घाइते भएका नसिदलाई एडिके अस्पतालमा भर्ना गरिएको छ। उनका एक जना बडीगार्ड र एक जना विदेशी नागरिक पनि बिस्फोटमा परी घाइते भएका छन्।
५३ वर्षीय नसिदको अवस्था कत्तिको गम्भीर छ भन्नेबारेमा खुलाइएको छैन।
बिस्फोटको अहिलेसम्म कसैले जिम्मा लिएको छैन। राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले घटनाको अनुसन्धान भइरहेको जनाएका छन्।