धादिङका जनप्रतिनिधिको तमसा : कोरोना महामारीमा समन्वय प्रमुख नै पार्टी कार्यालय उद्घाटनमा !

धादिङका जनप्रतिनिधिको तमसा : कोरोना महामारीमा समन्वय प्रमुख नै पार्टी कार्यालय उद्घाटनमा !

दियोपोस्ट संवाददाता


धादिङ्ग, २५ वैशाख । नयाँ भेरियन्टको कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै सरकारले ६० वटा भन्दाबढि जिल्लामा निषेधाज्ञा घोषणा गरेको छ । निषेधाज्ञा लागु भएको प्रमुख जिल्ला मध्ये धादिङ्ग पनि एक हो ।

जिल्ला अस्पताल धादिङ्गका ४० जनाभन्दा बढी स्वास्थ्यकर्मी नै संक्रमित भएपछि जिल्लाको स्वास्थ्य सेवा नै ठप्प छ । कोरोना महामारीले मुलुक नै अस्तव्यस्त छ । तर, प्रधानमन्त्री केपी ओलीले सिएनएनसँगको अन्तर्वार्तामा कोरोना नियन्त्रणमै रहेको हास्यास्पद बयान दिए ।

यता जिल्ला जिल्लामा ओलीकै कार्यकर्ता निषेधाज्ञाको उलंघन गर्दै कोरोना फैलाउँदै हिँडेका छन् ।
निषेधाज्ञा जारी रहेका जिल्लाहरुमा पनि निषेधाज्ञाको क्रममा कुनै सभा समारोह तथा कार्यक्रम नगर्न मापदण्ड बनाईएको छ । तर धादिङको सिद्धलेक गाँउपालिकाका जनप्रतिनिधीहरुले भने जिल्लाले बनाएको मापदण्डकै बर्खिलाप गरी पार्टी कार्यालय उद्घाटन गरेका छन् ।


शनिबार, नेकपा एमाले ओली समुहका जिल्ला तहका नेता समेत रहेका गाँउपालिका अध्यक्ष प्रेमनाथ सिलवाल, ओली समुहकी गाउँ पार्टी अध्यक्ष समेत रहेकी गाउँपालिका उपाध्यक्ष कमला शर्मा, गाँउपालिकाका ओली समुह निकटका वडाध्यक्ष, स्थानिय नेता तथा सयौँ कार्यकर्ताहरुको उपस्थितीमा एक कार्यक्रम गरी जिल्ला समन्वय समितीका प्रमुख जगन्नाथ नेपालबाट गाँउपालिका कार्यालय नजिकै पार्टी कार्यालयको उद्घाटन गरेका हुन् । जगन्नाथ नेपाल पनि ओली समुहकै जिल्ला नेता हुन् ।


गत केहि समयअछि मात्र एमालेको ओली समुहले सिद्धलेकमा गाँउपालिका उपाध्यक्ष कमला शर्माको अध्यक्षतामा पार्टी कमिटी घोषणा गरेको थियो । उक्त कमिटीले शनिबार गाँउपालिकाको खर्चमा एक औपचारिक कार्यक्रम गरी गाँउपालिका नजिकैको एक घरमा पार्टी कार्यालय स्थापना गरेको हो । उक्त कार्यालयको शनिबारै जिल्ला समन्वय समितिका प्रमुख नेपालबाट उद्घाटन गरेका हुन् ।


तामझाम सहित गरिएको उद्घाटनपछि ओली समुहले वडास्तरिय भेला समेत गरेका छन् ।

Trending News