काठमाडौँ, जेठ ११ गते । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल डोटीमा वितरण गरेको अनुदानकै सिलिन्डरमा स्टिकर टाँसेको पुष्टि भएको छ । आलेले वितरण गरेको मध्ये ७५ अक्सिजन सिलिण्डरमध्ये १५ स्वास्थ्य सेवा विभागले प्रदान गरेको हो । ६० वटा भने आफैले किनेको उनको दाबी छ ।
वन मन्त्री आलेले स्वास्थ्य विभागले १५ वटा सिलिन्डर दिएको स्विकार गरेका छन् । विभागको आपूर्ति महासाखाका अनुसार वन मन्त्री आलेले डोटी पुर्याएका १५ वटै सिलिन्डर निशुल्क उपलब्ध गराइएको हो । ती सिलिन्डरहरु केहीदिन अघि चीन सरकारले नेपाल सरकारलाई अनुदानमा दिएका सिलिन्डर हुन् । ती सबै सिलिन्डरमा उनले आफ्नो स्ट्रिकर टाँसेका थिए ।
‘हामीले अस्पताललाई सिलिन्डर दिने हो । सांसद वा मन्त्रीलाई दिने भन्ने कुरा हुँदैन,’ स्वास्थ्य सेवा विभागका आपूर्ति महाशाखाका उपेन्द्र ढुंगानाले दियोपोस्टसँग भने,‘हामीले दिएका कुनै पनि सिलिन्डर कसैले पनि किनेको होइन । सरकारले निशुल्क दिएको हो ।’
यता वन मन्त्री आलेले भने चौतर्फी आलोचना भएपछि सञ्चार माध्यमकै धज्जी उडाएका छन् ।
“अक्सिजन नभएर नागरिकले ज्यान गुमाइरहेका बेलामा भ्रामक समाचार सम्प्रेषण हुनु आफैँमा नराम्रो हो, सकिन्छ भने सत्य समाचार लेखौँ, सकिँदैन भने गलत प्रचार नगरिदिऔँ,” उनले भने, “म व्यापारी होइन, जनताको सेवक हुँ, छातीमा हात राखेर भन्छु मैले किनेर दिएको सामान विदेशी अनुदानको होइन ।”
मन्त्री आलेले आफ्नो व्यक्तिगत खर्चमा डोटीमा ६० थान अक्सिजन सिलिण्डर, एक लाख ५० हजार मास्क तथा सेती प्रादेशिक अस्पताल कैलालीमा ५० थान भरिएका अक्सिजन सिलिण्डर र ५० हजार मास्क प्रदान गरेको उनको सचिवालयले बताएको छ ।