काठमाडौं, १२ जेठ । युरोपियन फुटबल महासंघ (युइएफए) ले स्पेनिस क्लबद्वय रियल म्याड्रिड र बार्सिलोना तथा इटालियन क्लब युभेन्ट्समाथि कारबाही प्रक्रिया अघि बढाएको छ।
प्रस्तावित युरोपियन सुपर लिगबाट अझै नाम फिर्ता नलिएको भन्दै तीन क्लबमाथि कारबाही प्रक्रिया अनुशासन समितिले अघि बढाएको हो।
सुपर लिगमा सुरूमा १२ क्लबले भाग लिने घोषणा गरेका थिए। युइएफए र घरेलु फुटबल संघको चेतावनी पछि ९ क्लबले सुपर लिगबाट नाम फिर्ता लिएका थिए।
तर तीन वटा क्लबले नाम फिर्ता नलिएपछि अनुशासन समितिले कारबाही प्रक्रिया अघि बढाएको मंगलबार युइएफएले जनाएको हो।
तीन क्लबमाथि कस्तो कारबाही हुने विषयमा बृस्तित अनुसन्धानपछि थाहा हुने बताइएको छ ।
तीन क्लबले सुपर लिग आयोजना गर्ने आफूलाई अधिकार भएकोले कानुनी लडाइँ लड्न बताउँदै आएका छन्।
यसअघि इंग्लिस क्लबहरु आर्सनल, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र टोटेनहमले नाम फिर्ता लिएका थिए।
यस्तै इटालियन क्लब एसी मिलान र इन्टर मिलान तथा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले पनि सुपर लिगबाट नाम फिर्ता लिएका थिए।