प्रहरीमाथि सरकारको उपेक्षा : सरकारी अस्पतालमा नपाएपछि नीजि अस्पतालमा खोप लगाउनेको यस्तो भिड !

दियोपोस्ट संवाददाता

काठमाडौं, १२ जेठ । नेपाल प्रहरीको आफ्नै अस्पताल छ । प्रहरी, सेना र स्वास्थ्यकर्मी जस्ता अत्यावश्यक सेवामा खटिने कर्मचारीका लागि सरकारले कार्यालयमै खोपको व्यवस्था गर्नुपर्ने हो । तर, सरकारको लाचारीको कारण नेपाल प्रहरीका कर्मचारी निजी अस्पतालमै भिड लाग्नुपर्ने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले सामान्य नागरिकलाई निषेधाज्ञाको नाममा कडाई गरेपनि राजधानीको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भने खोप लगाउने प्रहरी कर्मचारीको भिड छ ।


बुधबार विहान केएमसी अस्पतालमा खोप लगाउने प्रहरी कर्मचारीको चर्को भिड लागेको हो । पूर्व डिआइजी राजिव सुब्बाले उक्त तस्विर सार्वजनिक गर्दै लेखेका छन्,‘नेपाल प्रहरीको आफ्नो अस्पताल हुँदा हुँदै राष्ट्र र नागरिकको सुरक्षामा अहोरात्र खटिने प्रहरी कर्मचारीहरु अन्य अस्पतालमा भ्याक्सिन लगाउन जानु पर्ने अवस्था दुखद हो ।’


पूर्व डिआइजी गणेश केसीले सरकारप्रति सार्वजनिक आलोचना भइरहेको प्रति तस्विरले पुष्टि गरेको बताए । ‘यो अबस्था आउनु प्रहरीको स्वास्थ्य संवेदनशिलता माथि राज्यको प्राथमिकता कमजोर छ भन्ने आलोचकहरुको आलोचना सही रहेछ भन्ने देखिएको छैन र,?’ उनले भने,‘यो अवस्थालाई तत्काल सम्बोधन गरेर गलत प्रमाणित गरियोस् भन्ने कामना ।’

सरकारले खोपको व्यवस्थापन गर्न नसक्दा नेपालमा पछिल्लो समय कोरोना संक्रमण दर बढ्दो क्रममा छ । कोरोना महामारी जारी रहँदा सरकारले खोप लगायत अति आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापन गर्न सकिरहेको छैन । सरकारले लकडाउन तथा निषेधाज्ञाकै भरमा कोरोना नियन्त्रण गर्न खोज्नु हास्यास्पद रहेको विज्ञहरुको तर्क छ ।

सम्बन्धित खबर