गुप्तचर एजेन्सीलाई बाइडनको निर्देशन ; कोरोनाको उत्पत्तिबारे ९० दिनभित्र रिपोर्ट बुझाउ

दियो पोस्ट  

काठमाडौं, १३ जेठ । अमेरिकी राष्ट्रपति जो बाइडनले गुप्तचर एजेन्सीहरुलाई कोरोना भाइरसको उत्पत्तिबारे अध्ययन गरेर ९० दिनभित्र रिपोर्ट बुझाउन निर्देशन दिएका छन् ।

एक विज्ञप्ति जारी गर्दै बाइडनले कोरोना भाइरसको उत्पत्तिको विषयमा आफ्नो प्रयास बढाउन आग्रह गरेका हुन् ।

कोरोना भाइरसको पहिलो संक्रमित सन् २०१९ को डिसेम्बरमा चीनको हुबेईस्थित वुहान सहरमा फेला परेका थिए ।

त्यसयता अहिलेसम्म विश्वभर यो भाइरसको कारण १६ करोड ८० लाखभन्दा धेरै मानिसमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

साथै कोरोना संक्रमणको कारण विश्वभर ३५ लाख मानिसको मृत्यु पनि भइसकेको छ ।

चिनियाँ अधिकारीहरुले सबैभन्दा पहिला यो संक्रमणको सम्बन्ध वुहानमा रहेको समुद्री खानाको बजारसँग रहेको बताएका थिए ।

वैज्ञानिकहरुले यो भाइरस जनावरबाट मानिसमा सरेको हुन सक्ने बताएका छन् ।

यद्यपि केही समयअघि अमेरिकी सञ्चारमाध्यमममा कोरोना भाइरस चीनको प्रयोगशालाबाट फैलिएको हुन सक्ने समाचार प्रकाशित भएको थियो ।

चीनले यो समाचारको खण्डन गर्दै यो भाइरस अमेरिकाकै प्रयोगशालाबाट आएको हुन सक्ने बताएको थियो । एजेन्सी