निलकण्ठ ६ को गोलाप्रथामा मुख्य निर्वाचन अधिकृतले ‘सेटिङ’ गरेको आरोप (भिडियो प्रमाण) !

diyopost.com
दियो पोस्ट  बिहिबार, जेठ ०५, २०७९ | १३:४९:०२

धादिङ । धादिङको निलकण्ठ ६ को वडाध्यक्ष निर्वाचनको मत परिणाम बराबर भएपछि गरिएको गोलाप्रथामा प्रमुख निर्वाचन अधिकृतले सेटिङ गरेको आरोप लागेको छ । मुख्य निर्वाचन अधिकृत रमेश प्रसाद ज्ञवालीले सेटिङमै गोला तान्न लगाएको भिडियो नै दियोपोस्टलाई प्राप्त भएको छ ।

वडाध्यक्षका प्रत्यासी नेकपा माओवादी केन्द्रका लक्ष्मण रम्तेल र नेपाली कांग्रेसका उम्मेदवार भूपेन्द्र श्रेष्ठको बराबर मत परिणाम आएको सार्वजनिक भएको थियो ।

वडाध्यक्षका दाबेदार श्रेष्ठ र रम्तेलले ७ सय ५८ मत ल्याएर बराबर भएको सार्वजनिक भएको थियो । मतपरिणाम बराबर भएपछि प्रमुख निर्वाचन अधिकृतले आज गोलाप्रथा कार्यक्रम राखेका थिए । जसमा माओवादी केन्द्रका उम्मेदवार रम्तेल र नेपाली कांग्रेसका तर्फबाट निर्वाचित मेयर भिम प्रसाद ढुंगाना गोलाप्रथाका लागि निर्वाचन अधिकृतको कार्यकक्षमा पुगेका थिए ।

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालत धादिङका मुख्य न्यायाधीश रमेश प्रसाद ज्ञवालीले गोला तान्नका लागि नेपाली कांग्रेस तर्फका भिम प्रसाद ढुंगानालाई संकेत गरेको भिडियो नै प्राप्त भएको छ । उक्त भिडियोमा न्यायाधीश ज्ञवालीकै संकेत अनुसार ढुंगानाले गोला तानेको देखिन्छ । त्यसपछि अर्को गोला भने माओवादी केन्द्रका उम्मेदवार लक्ष्मण रम्तेलले तान्नु पर्ने हो । तर, उनले गोला तानेको देखिँदैन । उनले गोला नै नतानेपनि मुख्य निर्वाचन अधिकृतले नेपाली कांग्रेका उम्मेदवार भूपेन्द्र श्रेष्ठलाई विजयी घोषणा गरिदिएको पाइएको छ ।

 

‘मुख्य निर्वाचन अधिकृतको संकेत अनुसार नेपाली कांग्रेस तर्फका मेयर भिम ढुंगानाले श्रेष्ठको तर्फबाट गोला तान्नु भो । उहाँले जुन गोलामा संकेत गर्नु भएको थियो त्यही गोला ढुङ्गानाले तानेपछि विजयी घोषणा भयो,’ एक प्रत्यक्षदर्शीले भने,‘उहाँले एकल गोलाको आधारमा विजयी घोषणा गर्नु भयो । अर्को पक्षले गोला नै तान्न नपाई उठेर हिँड्नु भयो ।’

निर्वाचन आयोगका प्रवक्ता शालिगराम शर्मा पौडेल भने यस्तो मुद्दामा आयोगमा लिखित उजुरी आए आयोगले नै निर्णय गर्ने जानकारी दिए । ‘यदि त्यस्तो हो भने उताबाट उजुरी आउनु पर्छ । त्यसपछि आयोगले निर्णय गर्छ,’ उनले भने ।

गत वैशाख २८ गते निलकण्ठ ६ मा दुई नेपाली कांग्रेसका कार्यकर्ता र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको थियो । झडपमा कांग्रेसका उम्मेदवार श्रेष्ठसहित २० जना घाइते भएका थिए । निर्वाचनकै दिन माओवादीका ४ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो । भोट हालेपछि माओवादीका उम्मेदवार लक्ष्मण रम्तेललाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउपछि उनी हिरासतमै रहँदा भएको मत गणनामा बराबर मतपरिणाम आएको सार्वजनिक भएको थियो । घाइते भएका श्रेष्ठ उपचारका क्रममा रहेकाले उनका तर्फबाट ढुंगानाले गोला तानेका थिए । रम्तेललाई हिरासतबाटै मुख्य निर्वाचन अधिकृतको कार्यकक्षमा पुर्याइएको थियो ।

गोलामा के छ भन्ने मलाई थाहा थिएन : मुख्य निर्वाचन अधिकृत ज्ञवाली

यस विषयमा प्रतिक्रिया लिन मुख्य निर्वाचन अधिकृत ज्ञवालीलाई सम्पर्क आफूले कुनै सेटिङ नगरेको भन्दै आफूमाथि लागेको आरोप अस्विकार गरे ।

‘त्यो गोला मैले बनाएको होइन । मलाई जस्तो गोला आयो त्यो वर्णानुक्रम अनुसार तान्नुस् भनेको हुँ,’ उनले भने,‘कानुनमा भएको व्यवस्था अनुसार मैले गरेको हुँ । जित्ने पक्ष खुसी हुने हार्ने पक्ष बेखुसी भएर यस्ता अरोप आउन सक्छन् । तर, मैले केही गरेको छैन ।

 

सम्बन्धित खबर