नर्भिक अस्पतालमा पर्यटकमाथि यसरी हुन्छ दोहोरो बिलिङ मार्फत ‘बार्गेनिङ’ र ठगी

अस्मिता खड्का  

काठमाडौं । नेपाल घुम्न आएकी जापानी आरोहिमाथि ‘ठगी’ गर्न नर्भिक इन्टरनेसनल अस्पतालले दुई वटा बिल (डबल बिलिङ) बनाएको तथ्य बाहिरिएको छ । आरोहणको क्रममा लडेर घाइते भएकी जापानी आरोहिको एउटै उपचार सेवा उपलब्ध गराएबापत छुट्टाछुट्टै मितिमा छुट्टाछुट्टै रकमको बिल बनाएको तथ्य बाहिरिएको हो ।

अस्पतालले सेवाग्राहिले लिएको एउटै सेवाको रकम जोडेर ठूलो रकमबाट बार्गेनिङ गर्ने गरेको र अन्त्यमा फेरी अर्को बिल दिएर लाखौँ रुपैयाँ असुली गर्ने गरेको पाइएको हो ।
अस्पतालले सेवाग्राहिलाई उपलब्ध गराएको पहिलो बिल अर्थात् प्रोभिजनल बिलअनुसार विभिन्न सेवाको ३४ लाख ८६ हजार रकम उठेको देखिन्छ । सेवाग्राहीले आफूहरुमाथि नर्भिकले ठगी गरेको भन्दै विभिन्न संचार माध्यममा जाने धम्की दिएपछि नर्भिक ४६ वटा सेवाको २४ लाख ४ सयको बिल थमाइदिएको देखिन्छ ।

एकै बिरामीको उपचारमा नर्भिकले विभिन्न टेस्टको फरक फरक मुल्य दाबी गरेको छ । पहिलो बिलमा एकै टेस्टको मुल्य महँगो देखिन्छ भने पछिल्लो बिलमा सोही परिक्षणको मुल्य घटेर आएको छ ।

भएको के थियो ?

सगरमाथा क्षेत्रमा पर्ने लोबुचे शिखर आरोहणबाट फर्किने क्रममा लडेर घाइते भएकी ४८ वर्षीया जापानी आरोहि युकी मोरितालाई उपचारको लागि नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना गरिएको थियो । मोरिताको आरोहण बन्दोबस्त गर्ने ‘ग्लेसियर हिमालय ट्रेक्स’ कम्पनीका अधिकारीहरुले उनलाई तत्काल हेलिकोप्टरमार्फत उद्धार गरी शुरुमा बत्तिसपुतलीस्थित स्वाकन अस्पतालमा पुर्याएका थिए । अस्पतालले नर्भिक अस्पतालमै लान रिफर गरिदिएपछि शेर्पाले बिरामीलाई नर्भिक पुर्याएका थिए ।

नर्भिक भर्ना भएको केहि दिनमा डिस्चार्ज गर्ने भनिएकी मोरिताको स्वास्थ्यमा हल्का सुधार देखिएपछि सुरुवाती चरणमा उपचार सेवाबापत दररेटसहित ‘प्रोभिजनल बिल’ लेखिएको बिल दिइएको थियो । नर्भिक अस्पतालका व्यापार निर्देशक बताउने अंकित अग्रवाललाई विरामीका आफन्त ताकेसी नाकायामाले सामान्य रुममा राखिदिन अनुरोध गरेका थिए । तर, अग्रवालले ह्वाट्सएपमा सामान्य रुममा राखिदिने भनेपनि बिलमा भने डलक्स रुमको बनाएका थिए । मिति नै उल्लेख नगरि काटिएको बिलमा विभिन्न ४६ वटा चेकजाँचको नाममा ३४ लाख ८६ हजार रुपैयाँ निकालेको देखिन्छ । सो बिल अस्पताल प्रशासनका कर्मचारीले अस्पतालमा मोरिता आरोहण गएको ट्रेकिङ कम्पनीका म्यानेजिङ डिरेक्टर दावा डेन्डी शेर्पालाई बुझाउँछन् ।

उक्त बिल हातमा परेपछि उनी झस्किन्छन् र आफ्नो ग्राहक मोरिताले त्यत्रो रकम तिर्न नसक्ने बताउँछन् । अस्पतालले निकालेको रकम अनुचित भएको र आफूहरु ठगीएको भन्दै उनले संचार माध्यमलाई खबर गरेका थिए । दियोपोस्टले यसबारे प्रतिक्रियाका लागि अस्पतालका अधिकारी अंकित अग्रवाललाई सम्पर्क गर्दा छलफल भइरहेको बताएका थिए । नर्भिकले यति ठूलो रकम विदेशी विमा कम्पनिको हकमा तयार पारेको बताएको थियो । जसमा परिक्षण नै नगरिएको शिर्षक समेत राखेर यतिका रकम बनाएको थियो । संचार माध्यमलाई खबर नदिने शर्तमा नर्भिक ४० प्रतिशत छुट गर्न बाध्य हुन्छ । छुटपछि उक्त रकम २४ लाख ४ सय रुपैयाँ हुन्छ । उक्त रकम तिरेपछि घाइते आरोहि मोरितालाई अस्पतालले डिस्चार्ज गर्छ ।

दोहोरो बिलिङ दोहोरो मुल्य

विरामीका आफन्तले सामान्य रुममा राखिदिनुस् भनेको विरामी डिलक्स रुममा राखिन्छन् । यसरी डिलक्स रुमको पनि पहिलो बिलमा प्रति दिन ५० हजार रुपैयाँ छ । तर, अर्को बिलमा भने ४० हजार रुपैयाँ उल्लेख छ । त्यस्तै शुरुको बिलमा इन्फेक्सन कन्ट्रोल तथा नर्सिङ केयरको नाममा ४ लाख ४१ हजार ६ सय ७९ रुपैयाँ उल्लेख छ । तर, पछिल्लो बिलमा भने त्यसैको मुल्य ३ लाख २ हजार ६ सय २९ रुपैयाँ उल्लेख छ । अधिकांश टेस्टमा पहिलो बिलमा र दोस्रो बिलमा फरक मुल्य छ ।

तर यसरी दोहोरो बिल बनाएर दोहोरो मुल्य दाबी गरि सेवाग्राहीसँग रकम असुल्नु सरासर ठगी एवम् कालोबजारी भएको सम्बन्धित निकायका व्यक्तिहरु बताउँछन् ।

‘डबल बिलिङ ठगी र कालो बजारी हो’

नेपालको कानुनअनुसार कुनैपनि सेवा प्रदायक संस्था वा बिक्रेताले सेवाग्राहिले एउटा मात्र सेवा लिएबापत दोहोरो बिल जारी गर्न पाउदैन । दोहोरो बिल जारी गरिएको पुष्टि भएको खण्डमा सम्बन्धित निकायले कारबाही प्रक्रिया अघि बढाउने प्रावधान छ ।

सेवा लिएवापत् बढि बिल दाबी गर्नु र दोहोरो बिल बनाउनु सरासर ठगि भएको वाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण विभागका सुचना अधिकारी आनन्दराज पोखरेल बताउँछन् । ‘नियमअनुसार सेवाग्राहिले सेवा लिएबापत सेवा प्रदायक संस्थाले बिल काट्नुपर्छ’ उनी भन्छन्, ‘पहिले जारी गरिएको बिलमा त्रुटी भयो र त्यसमा प्रश्न उठेर रकम घटाइएको हो भने सामान्य रुपमा लिनुपर्छ । तर नियतवश रकम घटाएर वा बढाएर बिल जारी गर्यो, पहिलोभन्दा दोस्रो बिलमा जारी भएको रकम फरक पर्न गयो या दिएको सेवा भन्दा बढि बिल गर्यो भने सिधै ठगि हो ।’

यस्तो अवस्थामा पिडितले के गर्ने र कस्तो कस्तो कानुन आकर्षित हुन्छ त ? विभागका निर्देशकसमेत रहेका पोखरेल भन्छन्, ‘दुइवटा बिल काटेकै आधारमा कारबाही प्रक्रिया अघि बढ्दैन । तर नियतवश ठगिएको अवस्थामा भने पिडितले उजुरी गर्ने र पर्याप्त प्रमाण जुटाएर कारबाही प्रक्रिया अघि बढाउनुपर्छ । सेवा प्रदायक संस्थालाई दोहोरो बिल किन जारी गरेको भन्दा सम्बन्धित निकायले दुइवटा सेवा लिएको भनेर दाबी गर्न सक्छ । तर छानविन गरेर कुन कानुन आकर्षण हुन्छ त्यहिअनुसार कारबाही प्रक्रिया अघि बढाउनुपर्छ ।’

उपभोक्ता हक संरक्षणकर्मी माधव तिमल्सिना पनि स्वास्थ्य संस्थाजस्तो संवेदनशील निकायले कुनैपनि बहानामा दोहोरो बिल जारी गर्नु ठगि मात्र नभई कालोबजारीसमेत भएको तर्क गर्छन् । ‘सेवाग्राहिले वस्तु र सेवा उपभोग गर्दा एक त त्यसको लागतभन्दा बढि बिल गर्न पाइदैन । त्यसमाथि एउटै सेवा लिएबापत डबल बिलिङ त झनै गर्न पाइदैन’ उनी भन्छन्, ‘स्वास्थ्य संस्थाजस्तो संवेदनशील निकायले सुरुमा अनुमानित र त्यसपछि फाइनल बिल भनेर दोहोरो बिल जारी गर्नु भनेको कालोबजारी र ठगीजस्तो अपराध हो ।’

स्वास्थ्य सेवा प्रवाह गर्ने अस्पताल, फार्मेसी र क्लिनिकलगायत सेवा प्रवाह गर्ने संस्थाले कम्पनी रजिष्टारको कार्यालय, स्वास्थ्य सेवा विभाग तथा स्वास्थ्य मन्त्रालयअन्र्तगत जहाँ आफ्नो संस्था दर्ता भएको हो सोहि आधारमा बिल काट्नुपर्छ । सेवाको प्रकृति र भुक्तानीको आधारमा फरक बिल पेश गर्न पाइएपनि एउटै सेवाको फरक दर राखेर फरक बिल पेश गर्न पाइदैन ।
तर नर्भिकले भने दोहोर बिल जारी गरेर कालोबजारी गर्न खोजेको हुन सक्ने संरक्षणकर्मी तिमल्सिना बताउँछन् । ‘सेवाप्रवाह गर्ने कम्पनीले कर छली गर्ने मनसायले कहिलेकाहि सुरुमा एउटा देखाउने र भुक्तानी अर्कै गर्ने गरी यस्तो कदम चाल्ने गर्छन्’ उनी भन्छन्, ‘यदि नर्भिकले दोहोरो बिल जारी गरेको हो भने यहाँ ठगि मात्र नभई कालोबजारी पनि गरेको देखियो । सुरुमा विमा बापतको रकम पनि दाबी गर्ने र बिमा दाबी नभएपछि बिरामीसँग अलग पैसा असुल्ने गरेको भए यो सरासर ठगि, कालोबजारी र राज्यलाई कर छलि पनि हो ।’

यस्तो अवस्थामा ठगि र कालोबजारी दुवै कानुन आकर्षक हुने उनी बताउँछन् । ‘नर्भिकको केसमा ठगि र कालोबजारी पुष्टि भएमायस्तो अवस्थामा ठगि कालोबजारी लगायत कानुन आकर्षण हुन्छ’ उनी भन्छन्, ‘यस्तो अवस्थामा स्वास्थ्य सेवा विभाग या स्वास्थ्य मन्त्रालयले कारबाही गर्न सक्छ । या प्रहरी र सम्बन्धित निकायबीच समन्वयात्मक रुपमा कारबाही प्रक्रिया अघि बढ्छ । आफु ठगिएको थाहा पाएमा पिडितले प्रमाणसहित उजुरी गर्नुपर्छ ।’

‘डबल बिलिङ’ नभएको नर्भिकका अधिकारीको दाबी

यता एउटै सेवामा दोहोरो बिल (डबल बिलिङ) किन जारी गरेको भन्दै दियोपोष्टले नर्भिक अस्पतालसँग प्रतिक्रिया लिएको थियो । यसबारे अस्पतालका अधिकारीले भने अस्पतालले डबल बिलिङ नगरेको दाबी गरेका छन् ।
‘डबल बिलिङ भएको छैन । सुरुको ‘प्रोभिजनल इन्भोइस’ हो, त्यो बिल होइन । पछिल्लो मात्र इन्भोइस हो’ नर्भिक अस्पतालका व्यापार निर्देशक अंकित अग्रवाल भन्छन्, ‘पहिलेको र पछिकोमा रेट छुट्टाछुट्टै छ । उहाँसँग सुरुमा इन्सुरेन्सको कुरा थियो त्यसमा कुरा नमिलेपछि हामीले उहाँलाई डिस्काउन्ट गरेर रेट मिलाइदिएको हो ।’

बिरामीले बिल (इन्भोइस) माग गरेमा अस्पतालले छुट्टाछुट्टै बिल उपलब्ध गराइदिने समेत उनी बताउँछन् । ‘दुइवटा इन्भोइस बन्दैन र कहिल्यै पनि बनेको छैन । इन्भोइस बिरामी डिस्चार्ज हुनेबेला बन्ने हो । बिरामी भर्ना भइरहेको छ भने त्यो इन्भोइस दैनिक रुपमा परिवर्तन भइरहेको हुन्छ’ उनी भन्छन्, ‘यदि कुनैपनि बिरामी भर्ना छ र उसले आफ्नो इन्भोइस माग गर्यो भने हामीले सुरुमा प्रोभिजनल इन्भोइस उपलब्ध गराइदिन्छौ । यसर्थ उहाँलाई सुरुमा दिएको प्रोभिजनल बिल हो भने पछिको छुटसहित उपलब्ध गराइएको बिल हो ।’

 

बसन्त चौधरीमाथि कसले गर्ला छानबीन ?

विदेशी नागरिकमाथि खुलमखुल्ला ठगी भएको खबर बाहिरिएपछि नर्भिकमाथि छानबीन गर्न भन्दै प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीले टोली खटाएको थियो । तर, अस्पताल संचालक बसन्त चौधरीले विभिन्न शक्ति केन्द्र परिचालन गरेर आफूमाथिको छानबीन नै प्रभावित पारेका छन् । अनुसन्धानका लागि मुभ भएको डिएसपीको नेतृत्वको टोली नै यो प्रकरणमा रहस्यमयी रुपमा पछि हटेका छन् ।