काठमाडौं । काठमाडौको ज्ञानेश्वरस्थित दर्ता विना सञ्चालित भारतीय विद्यालय आलोक विद्याश्रमलाई वडा कार्यालयले पत्र पठाएको छ । काठमाडौ महानगरपालिकाअन्र्तगत वडा नं ३० को वडा कार्यालयले सात दिने अल्टिमेटमसहित आलोक विद्याश्रमलाई पत्र पठाएको हो ।
उक्त विद्याश्रम काठमाडौ महानगरपालिकाको वडा ३० अन्र्तगत शहिद स्मारक विद्यालयको संरचनामा दर्ता बेगर सञ्चालन हुँदै आएको छ । ‘ज्ञानेश्वरस्थित शहिद स्मारक आवासिय विद्यालयको सरकारी जग्गा र संरचना भारतिय पाठ्यक्रम पठनपाठन हुने भारतिय विद्यालय आलोक विद्याश्रमले कब्जा गरेको’, ‘यसबारे सरोकारवाला निकाय नै बेखबर रहेको’ लगायत विषयमा दियो पोष्टले निरन्तर समाचार प्रकाशित गरेको थियो । उक्त समाचार प्रकाशित भएपश्चात सम्बन्धित निकायको ध्यानाकर्षण भएको थियो भने कानुनी प्रक्रियामा ल्याउन वडा कार्यालयले अनुसन्धान अघि बढाएको थियो ।
आलोक विद्याश्रम वडा कार्यालयमा दर्ता नभएको पाइएको वडा कार्यालयले जनाएको छ । वडा कार्यालयकाअनुसार आलोक विद्याश्रम महानगरको वडा नं. ९ बाट वडा नं. १ र वडा नं. १ बाट वडा नं. ३० मा स्थानान्तरण भएको देखिएको छ । वडा नं. ३० मा भने विगत ४ वर्षदेखि दर्ता नै नगरी आलोक विद्याश्रम सञ्चालन भएको पाइएको वडा कार्यालयले जनाएको छ ।
आलोक विद्याश्रमलाई दर्ताको प्रक्रिया र करको दायरामा ल्याउन वडाले पत्र पठाइसकेको वडा न ३० का वडासचिव देवराज जोशीले बताए । ‘आलोकलाई दर्ताको पक्रिया र करको दायरामा ल्याउन हामीले केहि दिनअघि पठाइसकेका छौ,’ उनले भने, ‘पछिल्लो समय आलोकबारे विभिन्न विषयमा कुरा उठेको थियो । त्यसपछि हामीले आलोक दर्ता छ/छैन, अन्यत्र दर्ता भएको भए त्यहाँबाट सिफ्ट भएको प्रमाण ल्याएको छ÷छैन भनेर खोजबिन गरेका थियौँ । र आलोक हाम्रो वडामा दर्ता नै नभएको पाइयो ।’ आलोकलाई तत्काल दर्ताको प्रक्रियामा ल्याई नियमन गरिने उनको भनाई छ ।
आलोक विद्याश्रम वडा कार्यालयमा दर्ता नभएको, दर्ता नविकरण नगरेको, स्थानान्तरण पनि नगरेको र हालसम्म तिर्नुपर्ने कर नतिरेको देखिएकोले विद्याश्रमका अधिकारी सात दिनभित्रमा सम्पर्कमा आउनुपर्ने वडा कार्यालयद्धारा जारी पत्रमा उल्लेख छ ।
स्वर्गीय गौरी जोशी राणाले स्थापना गरेको सरकारी स्वामित्वको शहिद स्मारक आवासिय विद्यालयको नाममा मार्टियस स्कुल सञ्चालन हुदै आएको थियो । झन्डै ६ रोपनी ९ आना सरकारी जग्गामा फैलिएको उक्त स्थानमा मार्टियसले पछिल्लो समय आफ्नै भवन र अन्य भौतिक संरचना खडा गरेको थियो । कुनै समय कक्षा १२ सम्म पठनपाठन हुने उक्त विद्यालय विद्यार्थी अभावका कारण बन्द हुने अवस्थामा पुगेको थियो ।
संस्थापक गौरी जोशी राणाको निधनपछि विद्यालय व्यवस्थापन समितिले मार्टियस स्कुल बन्द गराएको थियो । पछिल्लो समय मार्टियस स्कुलले विद्यालयको भौतिक संरचना र जग्गा निजी क्षेत्रबाट सञ्चालित भारतीय विद्यालय आलोक विद्याश्रमलाई भाडामा दिएको थियो ।
विद्यालय सञ्चालन गरेर आलोक विद्याश्रमले आम्दानी गरेपनि व्यवसाय र सम्पती कर भने हालसम्म शहिद स्मारक आवासिय विद्यालय नै तिर्दै आएको छ ।
ज्ञानेश्वरस्थित सहिद स्मारक स्कुलको सरकारी जग्गा ‘भारतीय’ आलोक विद्याश्रमद्वारा कब्जा !
आलोक विद्याश्रमको सरकारलाई ‘छलकपट’ : ५ वर्षअघि बन्द भएको मार्टियस स्कुलको नामबाट कर दाखिला !