नक्कली घटना बनाएर धादिङका एसपी गौतम केसीले यसरी फसाए व्यापारी, हेर्नुहोस् सिसिटिभी फूटेज र प्रमाण कागज !

पदको दुरुपयोग

दियोपोस्ट संवाददाता  

काठमाडौं । प्रहरीले गर्दै नगरेको कसुर र हुँदै नभएको अपराधमा व्यक्तिलाई कसरी फसाउँन सक्छ भन्ने एउटा दृष्टान्त दियोपोष्टले फेला पारेको छ । प्रहरीका जिल्ला प्रमुखले पदको दुरुपयोग गर्दा सर्वसाधरण वा सामान्य नागरिक कसरी प्रहरीको हिरासतसम्म पुग्नुपर्छ भन्ने प्रमाण यो घटनाबाट प्रष्ट हुन्छ ।

यसरी सामान्य नागरिकलाई कुनै अपराध बिना नै हिरासतमा राखेर जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक गौतम कुमार केसीले आफ्नो करियरमा प्रश्न उठाएका छन् । एउटा घटनाकै कारण केसीको कार्यक्षमतामाथि गम्भिर प्रश्न उठेको छ । जिल्लामा सामान्य व्यावसाय गर्ने एक व्यावसायीलाई उनले नियोजितमा रुपमा हिरासतमा राखेको कागजातले पुष्टि गरेको छ ।

सदरमुकाम धादिङवेशीमा होटल व्यावसायसहित एक निर्माणाधिन पेट्रोल पम्प संचालक समेत रहेका सुवास बसेललाई एसपी केसीको निर्देशनमा फसाइएको कागजात दियोपोस्टले फेला पारेको छ । उनले घटना विवरण कागजात नै नक्कली बनाएर पेश गरेको तथ्य फेला परेको छ । जिल्ला अदालत धादिङवेशीमा पेश गरेको अभियोगपत्रमा २०८१ जेठ ८ गते दिनको अन्दाजी चार बजे जिल्ला प्रहरी कार्यालयको धादिङको पश्चिम मुलगेट बाहिर नै बसेललाई शंकाष्पद अवस्थामा भेटिएको र सोधपुछ गर्दा निज आवेशमा आई आक्रोशित भएको र कर्तव्य पालनामा खटिएको प्रहरीलाई अश्लिल बोली र अभद्र व्यवहार गरेकाले कारबाही गरिपाउँ भन्दै प्रहरी हवल्दार आइतमान गुरुङले प्रतिवेदन पेश गरेका छन् ।

जबकी क्लोज सर्किट टेलिभिजन अर्थात सिसिटिभी फूटेजमा २०८१ जेठ ८ गते अर्थात अंग्रेजी मिति अनुसार सन् २०२४ मे २१ को दिनको चार बजेर ३७ मिनेट जाँदा उनी पुछारबजारबाट ससाह सडकखण्ड निलकण्ठ नगरपालिका– ८ तिन तले साँघुटार नजिकै बन्दै गरेको गणेश हिमाल आयल डिस्टिब्युटर्समा देखिन्छन् । त्यति नै बेला प्रहरीको भ्यान त्यहाँ आइपुगेको छ । हतियारसहित आएका प्रहरीले उनलाई जबरजस्ती गाडीमा हाल्न खोजेको देखिन्छ । त्यतिबेला उनले आफूलाई किन पक्राउ गर्न लागेको वा पक्राउ पुर्जी भए दिनुस् भन्ने माग राख्छन् । तर, प्रहरीले उनलाई जबरजस्ती भ्यानमा हालेर जिल्ला प्रहरी कार्यालयमा पुर्याउँछन् । हिरासतमा राखेपछि कसैलाई भेट्न नदिनु र पानी पनि पिउन नदिनु भन्दै यातना दिएको बसेल बताउँछन् । त्यहाँ दियोपोस्टलाई किन सुचना दिएको भन्दै प्रहरीले यातना दिएको बसेलको भनाई छ ।

घटनास्थल मुचुल्का पनि जिल्ला प्रहरी कार्यालयको अगाडी नै भएको भन्दै जिपिएस लोकेशन समेत राखिएको छ । जसमा जिल्ला निलकण्ठ नगरपालिका वडा नम्बर ३ धादिङवेशीस्थित पुर्व हुलाक कार्यालय गेट, पश्चिम जिल्ला अदालत कम्पाउन्ड, उत्तर जिल्ला प्रशासन कार्यालय जाने सडक खण्ड र दक्षिण कालुपाण्डे मुल सडकतर्फ जाने सडकमा खटिएको प्रहरीलाई कर्तव्य पालनाकै क्रममा सोधपुछ गर्दा बसेलले आवेगमा आई प्रहरी कर्मचारीलाई गाली गलौच गरि अभद्र व्यावहार गरेको घटनास्थल मुचुल्कामा उल्लेख छ । यसरी अभद्र व्यवहार भए घटनास्थलमै प्रहरीले पक्राउ गरि मुद्दा चलाउन सक्छ । तर, बसेललाई भने सोहीदिन प्रहरीले भनेकै समयमा त्यहाँबाट नभई प्रहरीले घटनास्थल मुचुल्का बनाएको स्थानभन्दा झण्डै ५ किलोमिटरभन्दा पर अर्थात निलकण्ठ ८ तिलतले साँघुटारबाट पक्राउ गरिएको छ ।
यता बसेलको बयानमा भने प्रहरीले उजुरीका तस्विर किन खिचेको भन्दै सोधेको भनि प्रश्न गर्दा भनाभन भएको नाटकीय बयान लेखिएको छ । घटना विवरण कागजामा गणेश बराइली, सोमबहादुर रोक्का र राम नेपालीले प्रहरी कार्यालयमा रहेको उजुरीको तस्विर खिचेको विषयमा विवाद भएको बयान गराइएको छ ।

बसेललाई ७ दिन हिरासतमा राखेपछि प्रहरीले मुलुकी अपराध संहिता, २०७४ परिच्छेद–५ को दफा ११८ अनुसार कारबाहीका लागि प्रहरी प्रतिवेदन बनाइएको थियो । मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ मा अभद्र व्यवहार गर्न नहुने उल्लेख छ । जसको उपदफा (१) मा भनिएको छ,‘कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न नहुने कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरि कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा असक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन’ भनि लेखिएको छ । त्यस्तो व्यवहार गर्ने व्यक्तिलाई एक वर्ष कैद वा १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । जिल्ला प्रशासन कार्यालयले प्रहरीले बनाएको यस्तो फर्जी कागजातकै आधारमा बसेललाई ८ हजार धरौटी माग गरेर छाडेको छ ।
पीडित भनिएका हवल्दार भन्छन्,‘घटना भएको छैन, मलाई थाहा छैन’

यता प्रहरी प्रतिवेदक र पीडित भनिएका प्रहरी हवल्दार आइतमान गुरुङले प्रहरी कार्यालय परिसरमा त्यस्तो कुनै घटना नै नभएको बताए । दियोपोस्टले प्रतिक्रियाका लागि सम्पर्क गर्दा उनले शुरुमा ‘को सुवास बसेल ?’ भन्दै प्रश्न गरे । उनले अन्य प्रहरी कर्मचारीलाई बसेलको केही मुद्दा थियो र भन्दै प्रश्न गर्छन् ।

यस्तो छ उनीसँग दियोपोस्टले गरेको वार्ता
दियोपोस्ट : हवल्दार साप आइतमान गुरुङ हो ?
आइतमान : हजुर हो ।
दियोपोस्ट : जिल्ला प्रहरी कार्यालय धादिङमा हुनुहुन्छ ?
आइतमान : हजुर ।
दियोपोस्ट : सुवास बसेल भन्नेले तपाईंलाई अभद्र व्यवहार गरेको वा प्रहरी कार्यालयको गेट अगाडी भनाभन भएको थियो ?
आइतमान : सुवास बसेल कहाँको भन्नुस् त ?
दियोपोस्ट : धादिङकै हुनुहुन्छ । तपाईंमाथि अभद्र व्यवहार भएको विषय तपाईंले थाहा पाउनु भएन र ?
आइतमान : ओ…. सुभास बसेल भन्नेको अभद्र व्यवहारको केही मुद्दा थियो ? (कार्यालयकै कर्मचारीलाई बुझ्दै) तर, उनले जवाफ पाएनन् ।
दियोपोस्ट : हजुरसँग अभद्र व्यवहार भएको भनिएको छ । हजुरले नै चिन्नु भएको छैन ?
आइतमान : मसँग अभद्र व्यवहार भएको हो र ? प्रश्नै ।
दियोपोस्ट : तपाईंले नै जाहेरी र प्रतिवेदन दिनु भएको छ तपाईंलाई नै थाहा रहेनछ । गत जेठ ८ गते जिल्ला प्रहरी कार्यालयको गेट अगाडी बेलुका चार बजे तपाईंमाथि सुबास बसेलजीले अभद्र व्यवहार गरेको हो ?
आइतमान : होइन त्यस्तो छैन ।
दियोपोस्ट : तपाईंको नामबाट प्रतिवेदन बुझाउनु भएको रहेछ । तर, तपाईंलाई थाहा रहेनछ । धन्यवाद ।
आइतमान : धन्यवाद ।

सिडिओ भन्छनन्,‘फैसलामा हेर्छु’
धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले हिजो मात्रै कार्यभार सम्हालेका हुन् । यसअघि सिडिओ नभएकै मौकामा यो मुद्दा त्यहाँ प्रवेश गरेको थियो । जिल्ला प्रशासन कार्यालयले यसअघि गरेको गतिविधिबारे आफूले टिप्पणी नगर्ने तर, आगामी दिनमा हुने फैसलामा आफूले हेर्ने उनले बताए ।

प्रवक्ता भन्छन्,‘घटना मुचुल्का र बयान बाझिएको विषयमा हेर्छु’

प्रवक्ता डिएसपी मकेन्द्र कुमार मिश्रले घटनास्थल मुचुल्का र प्रहरी कर्मचारीकै बयान बाझीएको विषयमा अनुसन्धान हुने बताए । दियोपोस्टले घटना भएको भए जिल्ला प्रहरी कार्यालयको सिसिटिभी फूटेज पनि होलानी भन्ने प्रश्न गर्दा उनले त्यस विषयमा पनि आफूले बुझ्ने बताए ।

 

हेर्नुहोस् बस्याललाई पक्राउ गर्दा सिसिटिभी फुटेजमा कैद भएको यो भिडियो…

सिफारिस