पशुपतिमा फूल बेच्नेमाथि सुरक्षागार्डको ज्यादती (भिडियो)

दियोपोस्ट संवाददाता  

काठमाडौँ । विहिबार बिहान ६ बजेर ५१ मिनेट जाँदा यो पंक्तिकार पशुपति मन्दिर परिसर भित्र पुगेको थियो । त्यतिनै बेला त्यहाँ एउटा दृष्य देखियो । पशुपति परिसर भित्र सुरक्षाका लागि खटिएका सुरक्षागार्डले एक महिला र उनको छोराको हातबाट एउटा पोको खोसिरहेका थिए । उनीहरुबीचको घम्साघम्सीसँगै वार्ता पनि जारी थियो ।
‘हिजो पनि त्यत्रो लग्यो । ल…ल.. लैजानु’ ती किशोर भन्दै थिए ।

यता गार्ड भने ‘छोड् छोड्’ भन्दै पोखो खोस्नमै व्यस्त थिए । तीन जना सुरक्षा गार्डले जबरजस्ती गरेपछि ती आमा छोराको केही सिप चलेन । उनीहरुले जोगाउन खोजेको उक्त फूलको पोका सुरक्षागार्डको हातमा पुग्यो । त्यसपछि उनीहरु बिलाप गर्न थाले । पंक्तिकारले भिडियो खिचेको चाल पाएपछि सुरक्षा गार्डले रुखो भाषामा भिडियो नखिच्न निर्देशन दिए ।
‘ओई भिडियो नखिच्’ उनी भन्दै थिए । त्यति बेला एक महिला सुरक्षा गार्डले अहिले सिसिटिभि क्यामराले खिचिरहेको भन्दै उनीहरुको हातबाट फुलको पोका खोसे । एक छिनसम्म उनी सरक्षा गार्डको हातमा परेको उक्त्त फुल पोको फिर्ता लिन उनीहरुको कोशिस् थियो । तर, उनीहरुको केही चलेन ।

“हिजो पनि हामीले छोडेको हो” महिला सुरक्षा गार्ड भन्दै थिइन् । तर ती महिला र उनको छोराले फूलको पोको सँधै सुरक्षागार्डले लैजाने गरेको बताए ।
“उनीहरुले सधै यस्तै गर्छन् हिजो पनि मेरो सामान लिन खाजेका थिए मैले तल अर्को ठाउँमा राखेको थिए फेरि त्यताबाट पनि उनीहरुले उठाएर लगे,’ छोरा भन्दै थिए । त्यहाँ भेटिएका प्रत्यक्षदर्शीका अनुसार यसरी पशुपति क्षेत्रमा खटिएका सुरक्षगार्डले सामान्य नागरिकले जिविकोपार्जनका लागि बिक्री गर्दै आएका फूलका पोका तथा पुजाका सामग्री खोस्दै आएका छन् ।
पशुपतिनाथ मन्दिर परिसरमा दर्शन गर्न आउने भक्त्तजनहरुलाई पुजापाठका लागि चाहिने सामाग्री बच्नका लागि परिसर भित्र पसलहरु राखिएका छन् । तर उक्त्त पसल राख्दा ठूला व्यापारीलाई मात्र दिने गरेको ती प्रत्यक्षदर्शीको भनाई छ ।
यसरी परिसर भित्र फूलको पोको बोकेर जीवन गुजारा चलाउँदै आएकाहरुबाट पशुपति विकासकोषले ३६ हजार रुपैयाँका दरले पैसा उठाएको छ । तर, पैसा उठाएर पनि उनीहरुलाई पसल वा सटर भने दिन सकेको छैन । पैसा पनि उठाउने तर, पशुपति क्षेत्रमा फूल तथा पुजा सामग्री विक्री गर्दा खोस्ने गरेको प्रत्यक्षदर्शीको भनाई छ ।

“हामी बाहिरको मान्छे यता आएर सानो व्यवसाय गरौं भन्दा अहिले हामीलाई दुःख दिन्छन्,’ तीनै पीडित महिला भन्दैथिइन्,‘पहिले हामीबाट पसल बनाइदिने भनेर पैसा लिए तर अहिले अरु ठूला र पहुँच भएकाहरुलाई मात्रै दिइयो ।’
भगवान शिवको प्रमुख आस्थाको रूपमा रहेकोे प्रमुख धार्मिक पर्यटकीय केन्द्र पशुपतिनाथ सबैका लागि धार्मिक र मनोरम सम्पदा क्षेत्र हो । तर पशुपति मन्दिर परिसरभित्र पुजापाठका सामाग्री बच्ने साना व्यपारीमाथि पशुपति क्षेत्र कोषका सुरक्षाको नाममा खटिइएका अधिकारीहरुको ज्यादती छ ।

सुरक्षा प्रमुख भन्छन्,‘हामीले त्यसरी कसैको पोको खोसेका छैनौँ’
पशुपति क्षेत्रभित्र दुई नेपाल प्रहरी सशस्त्र प्रहरी लगायतको सुरक्षा घेरा छ । तर, पशुपति क्षेत्र विकास कोषले दुई खाले निजि सुरक्षा गार्ड पनि राखेको छ । बज्र सेक्युरिटी नामको कम्पनि र भारतीय प्रहरीको जस्तो देखिने पहिरन लगाएका अर्का सुरक्षागार्डपनि त्यहाँ देखिन्छ । विहिबार सामान्य नागरिकको पोको खोस्ने कार्य भने बज्र सेक्युरिटी गार्डले गरेको हो । पशुपति भित्र यसरी सामान्य नागरिकलाई ज्यादती गर्दै आएको बज्र सेक्युरिटीको प्रमुख हुन्–पुण्य विक्रम झा । उनलाई दियोपोस्टले प्रश्न गर्दा आफूहरुले कुनै पनि सडक व्यापारीको पोको नखोसेको बताए । ‘हामीले त्यस्तो गरेका छैनौँ,’ उनले भने । तर, उनले खोसिएको पोको भने महानगरप्रहरीले लैजाने गरेको बताएर दोहोरो कुरा गरे ।

याे भिडियाे पनि हेर्नुहोस्