
काठमाडौं । आफ्नो व्यावसायमा हुने संभावित दुर्घटनाबाट क्षति बहनका लागि निर्जिवन बीमा गरिन्छ । निर्जिवन वा जीवन बीमा सेवा प्रदायक कम्पनिहरुले संभावित क्षति देखाएर नै आम मानिसहरुलाई प्रिमियम तिराइरहेका छन् । भविष्यमा हुन सक्ने दुर्घटनाको त्रासमा मानिसहरुले बीमा कम्पनिहरुलाई अर्बौं रुपैयाँ बुझाइरहेका छन् । तर, कुनै दुर्घटना भए वा क्षति भए त्यस्तो अवस्थामा बीमा कम्पनिहरुले अनेक बहाना बनाएर बिमा कम्पनिलाई लाखौँ रुपैयाँ तिर्ने उपभोक्तामाथि यातना दिइरहेको पाइएको छ ।
काठमाडौंको ज्ञानेश्वरमा मुख्य कार्यालय रहेको नेको इन्स्योरेन्सले एक सर्वसाधरणलाई पीडामाथि थप पीडा दिएको पाइएको हो । आफूलाई नेपालको नम्बर वान निर्जिवन बीमा कम्पनि दाबी गर्ने नेको इन्स्योरेन्शले धादिङमा भएको एक आगलागीको घटनाबाट पीडितलाई चरम पीडा दिएको पाइएको हो ।
जिल्लास्थित प्रतिष्ठित प्रतिक कम्प्युटर प्रशिक्षण केन्द्रको गोदाममा गत पौष १८ गते ठूलो आगलागी भएको थियो । आगलागीबाट प्रतिक कम्प्युटरको एक करोड रुपैयाँ बराबरको कम्प्युटर, प्रिन्टर र राउटर नष्ट भएको कम्पनिको दाबी थियो । दुर्घटनापछि जिल्ला प्रहरी कार्यालयका प्रहरीसहितको टोलीले आगो नियन्त्रणमा लिएको थियो । तर, नियन्त्रणमा आउँदासम्म प्रतिक कम्प्युटरको एक करोड हाराहारीको क्षति भइसकेको संचालक तिलक सिंखडाले बताएका थिए । उनले यस्तै आपत विपतका लागि भनेर नेको इन्स्योरेन्समा बीमा गराएका थिए । नियमित बिमा कम्पनिलाई प्रिमियम पनि तिरिरहेका थिए । तर, दुर्घटनापछि बीमा कम्पनिको व्यवहारले आफू आजित भएको उनको भनाई छ ।
नेकोले दुर्घटनाबाट पीडित कम्पनिको सर्भे गर्न भनेर जिआई क्लेम एण्ड इन्जिनरिङ एशोशियट्स नामक कम्पनिलाई खटाएको थियो । उक्त कम्पनिले संचालक सिंखडाको क्षति मुल्यांकन गर्नुभन्दा आगलागीबाट लागेको घाउमा नुनचुक छर्ने काम गरेको पीडित सिंखडाले बताए । दियोपोस्टले प्राप्त गरेको कागजात अनुसार पीडित सिंखडालाई २०८० फागुन ९ गते स्पष्टिरण दिने भन्दै पत्राचार गरिएको छ । जसमा पीडित सिंखडालाई एकान्त र घर नभएको स्थानमा गोदाम किन राखेको भन्दै प्रश्न गरिएको छ । जबकी उनले यही गोदामका लागि भनेर नेको इन्स्योरेन्सलाई प्रिमियम भुक्तानी गरिरहेका थिए ।
बीमा कम्पनिले प्रिमियम लिने समयमा एकान्त वा घर नभएको स्थान हेर्दै नहेरी प्रिमियम लिएपनि दुर्घटनापछि भने यस्तो हास्यास्पद प्रश्न गरेको थियो । जबकी उनलाई नेको इन्स्योरेन्सले प्रिमियम शुल्क लिएर एक करोड ११ लाख रुपैयाँको बिमांक गराएको थियो । प्रतिक कम्प्युटरले ४९ हजार रुपैयाँका दरले प्रिमियम पनि नियमित तिरिरहेकै देखिन्छ । त्यतिमात्रै होइन बीमा गर्दा गोदाम रहेको स्थान साविक नलाङ नै उल्लेख गरिएको छ । तर, दाबी भुक्तानी दिनेबेला भने कम्पनिले आफूमाथि अन्याय गरेको पीडित सिंखडाको भनाई छ ।
नेको इन्स्योरेन्सले सर्भेका लागि खटाएको उक्त कम्पनिले जम्मा १२ लाख ६५ हजार रुपैयाँ मात्रै क्षति भएको विवरण इन्स्योरेन्स कम्पनिमा बुझाएको छ ।
सर्भेयर कम्पनिले पीडित सिंखडाको स्वमित्व रहेको प्रतिक कम्प्युटरलाई सोही रकममा हस्ताक्षर गर्न दबाव दिएको छ । तर, सिंखडाले आफूमाथि अन्याय भएको भन्दै हस्ताक्षर गर्न अस्विकार गर्दै आएका छन् । दियोपोस्टले कम्पनिका एक प्रतिनिधिलाई सम्पर्क गर्दा उनले २० लाखको क्षति भएको र बिमा दाबी भुक्तानी भने जम्मा १२ लाख रुपैयाँ दाबी गरिएको बताए ।
यता वीमा कम्पनि नेको इन्स्योरेन्सका सीईओ अशोक खड्का भने यदि सर्भेयरबाट पीडित भएको हो भने बीमा कम्पनिमै उजुरी गर्न पाउने बताउँछन् । ‘उहाँ पीडित भएको हो भने हाम्रो कम्पनिमा पठाइदिनुहोला । उहाँले यहाँ नै उजुरी दिन पाउनु हुन्छ,’ उनले भने,‘यदि यहाँ समाधान भएन भने बीमा कम्पनिमा जाने बाटो पनि छ ।’
बीमा प्राधिकरणका प्रवक्ता राजु रमण पौडेललाई यस विषयमा प्रतिक्रियाका लागि सम्पर्क गर्दा उनले बीमा दाबी सम्बन्धमा अन्याय हुनेले प्राधिकरणमा लिखित उजुरी दिन सक्ने बताए । प्राधिकरणले उजुरीबारे अनुसन्धान गरि कारबाही गर्न सक्ने उनको भनाई छ ।