वाइसिएलको नेतृत्व ‘बिवाद’ कायमै, सहमतिमा जान प्रचण्डको निर्देशन

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेकपा (माओवादी) केन्द्र निकट युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल)को जारी तेस्रो राष्ट्रिय सम्मेलनमा नेतृत्व चयनको बिषयमा बिवाद कायमै छ । अन्तिमसम्म सहमति जुटाउने प्रयास भएता पनि सहमती जुट्न नसकेको हो ।

सहमतिमै नेतृत्व चुन्नका लागि नेताहरूले कसरत जारी राखेको वाइसिएलका एक नेताले बताए । बिहिबार नै निर्वाचन प्रकृयामा जाने भनिएता पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिमै नेतृत्व चयन गर्न निर्देशन दिएकाले हिजो निर्वाचन कार्यतालिका अघि बढ्न सकेको थिएन।

शुक्रबार दिउँसो एक बजेलाई उम्मेदवारी दर्ता प्रक्रिया सुरू गर्ने तयारी रहेको निवर्तमान अध्यक्ष सुबोध शेर्पालीले जानकारी दिए। उनले सहमतिमै नेतृत्व चयन गर्न जोड दिएको बताए । दुई दिन अघिसम्म १३ जना अध्यक्षका आकांक्षी भएको र अहिले ६ जना मात्रै आकांक्षी रहेको उनले बताए । उहाँहरूकै बीचमा सहमति गरेर प्रक्रियालाई अन्तिम रूप दिन्छौं,’ उनले भने।

उनले शुक्रबार दिउँसो १ बजेबाट उम्मेदवारी दर्ता सुरू गर्ने र आजै नयाँ नेतृत्व चुन्ने पनि उनले बताए । पार्टी नेतृत्व र आम प्रतिनिधिको मनोभावना पनि सहमतिमै नेतृत्व चयन गर्नपर्छ भन्ने रहेको र सहमतिमै नेतृत्व छान्दा बाहिर बलियो सन्देश जाने उनको बुझाइ छ ।

जेठ १८ गतेदेखि चलेको सम्मेलनमा नयाँ नेतृत्व चयनसहित जेठ २० गते सक्ने कार्यसूची थियो। तर जेठ २३ गतेसम्म पनि नेतृत्व चयन प्रक्रिया सुरू भएको छैन। सम्मेलनले २५१ सदस्यीय केन्द्रीय कमिटी, ३५ सदस्यीय पदाधिकारी, तीन वटा आयोग चयन गर्नेछ।  निर्वाचन समितिले उम्मेदवारको नामावली भने प्रकाशित गरेको छ। वाइसिएलको तेस्रो अधिवेशनका लागि १ हजार ५२२ जना प्रतिनिधि छन्।

वाइसिएलको आगामी अध्यक्षमा केहरसिंह कुँवर, पुष्प ओली, कर्म पुलामी, गणेश शाही, नवराज ऐर लगायतको नाम चर्चामा छ। बुधबारसम्म कुँवरको नाम चर्चामा आए पनि बिहीबार पुष्प ओलीको सम्भावना बढेको छ।

त्यस्तै पुलामी, शाही र ऐर पनि पछि हट्ने पक्षमा नदेखिएको एक प्रतिनिधिले बताए। ‘नेतृत्वले कसलाई बनाउन चाहेको हो भनेर प्रष्ट चित्र आइसकेको छैन। छलफल चलिरहेको छ। अध्यक्ष प्रचण्डले जसलाई बनाउन भन्नुहुन्छ वा भन्नुभएको छ, अन्तिममा बन्ने त्यही हो। चुनाव हुन्छ जस्तो त हामीलाई पनि लागेको छैन,’ एक प्रतिनिधिले भने।

अध्यक्ष प्रचण्डले वाइसिएलको सम्मेलन सहमतिमै टुंगिनुपर्ने धारणा पार्टी पदाधिकारी बैठकमा पनि राखेका थिए। बिहीबार बिहान खुमलटारमा बसेको पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले वाइसिएल सम्मेलनमा सहमतिका लागि प्रयास भइरहेको ब्रिफिङ गरेका थिए।

 

सिफारिस