काठमाडौँ । माओवादीको भ्रातृ संगठनमा योङ कम्युनिस्ट लिग (वाईसीएल) को नेतृत्व चयन सहमतिको प्रयास भएको छ । नेतृत्वका लागि आकांक्षी धेरै भएपछि सहमति जुट्न नसकेको हो ।
सहमतिको प्रयास भइरहेको माओवादी केन्द्रीय सदस्य एवं वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा (दिपशिखा)ले जानकारी दिए । सहमति जुट्न नसके निर्वाचनको प्रकृया थालनी गरिने उनले बताए ।
जेठ १८ गतेदेखि चलेको सम्मेलनमा नयाँ नेतृत्व चयनसहित जेठ २० गते सक्ने कार्यसूची थियो। तर जेठ २३ गतेसम्म पनि नेतृत्व चयन प्रक्रिया सुरू भएको छैन । सम्मेलनले २५१ सदस्यीय केन्द्रीय कमिटी, ३५ सदस्यीय पदाधिकारी, तीन वटा आयोग चयन गर्नेछ।
निर्वाचन समितिले उम्मेदवारको नामावली भने प्रकाशित गरेको छ। वाइसिएलको तेस्रो अधिवेशनका लागि १ हजार ५२२ जना प्रतिनिधि छन्। वाइसिएलको आगामी अध्यक्षमा केहरसिंह कुँवर, पुष्प ओली, कर्म पुलामी, गणेश शाही, नवराज ऐर लगायतको नाम चर्चामा छ। बुधबारसम्म कुँवरको नाम चर्चामा आए पनि बिहीबार पुष्प ओलीको सम्भावना बढेको छ।