वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलन मस्कसँगको सम्बन्ध अन्त्य भएको बताएका छन्। शनिबार एनबीसी न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले सो कुरा बताएका हुन् ।
ट्रम्प र मस्कबिचको सम्बन्ध बिग्रिएको कुरा सामाजिक सञ्जालमा सार्वजनिक विवादपछि आएको हो। टेक व्यवसायी मस्कले ट्रम्पको निर्वाचन अभियानमा लाखौँ डलर दान गरेका थिए र ट्रम्पको विजय पश्चात उनी ह्वाइट हाउसको एक सल्लाहकारसमेत बनेका थिए ।
ट्रम्पको कर र खर्चसम्बन्धी विधेयकको मस्कले सार्वजनिक आलोचना गरेपछि उनीहरुबीचको विवाद चर्किएको हो । उक्त विधेयक ट्रम्पको प्रमुख घरेलु नीतिमा पर्छ।
अधिकांश रिपब्लिकन नेताहरू राष्ट्रपति ट्रम्पको पक्षमा उभिएका छन्। उपराष्ट्रपति जेडी भान्सले मस्क ‘एकदमै जङ्गी शैलीमा’ उत्रिएको बताउँदै, अब मस्कलाई पार्टीमा स्वागत नगरिने बताएका छन्।
केही सातादेखि मस्कले सो विधेयकको आलोचना गर्दै आएका थिए । मस्कको बिचारमा यो विधेयक पारित भएमा राष्ट्रिय घाटामा खरबौं डलर थपिनेछ र सरकारी खर्च कटौती गर्ने उद्देश्यले उनले नेतृत्व गरेको विभाग, डिपार्टमेन्ट अफ गर्भनमेन्ट एफिसिएन्सी (डज) को प्रयासलाई कमजोर पार्ने छ।
डजबाट १२९ दिनपछि बाहिरिएका मस्कले आफ्नो सामाजिक सञ्जाल एक्समा उक्त विधेयकलाई ‘घिनलाग्दो र विकृत’ भनेका थिए । तर त्यो बेला उनले ट्रम्पलाई प्रत्यक्षरूपमा आलोचना गरेका थिएनन्। बिहीबार ट्रम्पले पत्रकारहरूसँग भने, ‘म मस्कको व्यवहारप्रति निराश छु।’
त्यसपछि मस्कले एक्समा थुप्रै पोस्ट गर्दै आफू नहुँदो हो त ट्रम्पले चुनाव जित्न सक्दैन थिए समेत भने। साथै, ट्रम्पलाई यौन तस्करीको आरोपमा जेलमा नै रहेका बेला मरेका विवादास्पद व्यापारी जेफ्री एपस्टीनसँग जोडिएको आरोपसमेत उनले लगाए।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा मस्क ‘पागल’ भएको भन्दै प्रतिक्रिया दिएका छन्। एउटा पोस्टमा उनले मस्कका संघीय सरकारसँगका ठेक्काहरू कटौती गर्ने चेतावनीसमेत दिएका छन्।
ट्रम्पले शनिबार एनबीसी न्युजसँगको अन्तर्वार्तामा राष्ट्रपतिको कार्यालयप्रति मस्कले ‘सम्मान’ नदेखाएको आरोप लगाए। ‘मलाई लाग्छ यो निकै नराम्रो कुरा हो, किनकि उनले राष्ट्रपतिको कार्यालयप्रति निकै असम्मानजनक व्यवहार गरेका छन्। तपाईं राष्ट्रपतिको कार्यालयप्रति असम्मान गर्न सक्नुहुन्न,’ ट्रम्पले भनेका थिए।