काठमाडौँ । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म प्रतिपक्षी दलका सांसदहरुले सदन चल्न नदिने अडान कायमै राखेका छन् । आइतबार बसेको नेकपा माओवादी केन्द्र, रास्वपा लगायत प्रतिपक्षी दलहरुको संयुक्त बैठकले संसद्को अवरोध जारी राख्ने निष्कर्ष निकालेको हो ।
बैठकले विपक्षी दलहरूले राखेको प्रस्तावमा सत्ताधारी कांग्रेस र एमाले तयार नभएकाले संसद्को अवरोध जारी राख्ने निष्कर्ष निकालेको माओवादीको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका सभापति शेरबहादुर देउवासँग शनिबार भएको छलफलबारे जानकारी गराएको सचेतक पाण्डेले बताए ।
पाण्डेका अनुसार प्रचण्डले संसद्को अवरोध हटाउन विपक्षी दलहरूले राखेको प्रस्ताव उच्चस्तरीय छानबिन समिति गठन गर्न सत्तापक्ष तयार भए सदन खुलाउन आफू तयार भएको प्रस्ताव राखेका थिए । तर प्रचण्डको प्रस्तावमा देउवा तयार नभएकोबारे उनले बैठकमा ब्रिफिङ गरेका थिए ।