नयाँ दिल्ली । भारतको अहमदाबादमा दुर्घटनाग्रस्त एयर इण्डियाको विमानमा नेपाली नरहेको पुष्टि भएको छ । दिल्लीस्थित नेपाली दूतावासले बिमानमा सवार २४२ जना मध्ये कोही पनि नेपाली नरहेको दुतावासले बताएको हो ।
विमान दुर्घटना भएलगत्तै नेपाली नागरिक समेत सवार हुनसक्ने आशंकामा दिल्लीस्थित नेपाली दूतावासले भारतीय अधिकारीहरुसँग समन्वय गरेको थियो ।
दूतावासका कन्सुलर सन्जिव शर्माले विमानमा नेपाली नागरिक नरहेको जानकारी गराए । भारतीय अधिकारीहरुले विमानमा सवारहरुको सूची समेत पठाएका उनले बताए ।
सूची अनुसार विमानमा भारतीय, बेलायती, क्यानेडियन र पोर्चुगिज नागरिकहरु सवार थिए । विमानमा ५२ जना बेलायती र एक जना क्यानडेली नागरिक रहेको समेत भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
त्यस्तै बिमानमा पोर्चुगलका ६ जना नागरिक रहेको समेत पुष्टि भएको बताइएको छ । भारतीय समय अनुसार अहमदाबाद विमानस्थलबाट १ बजेर ३८ मिनेटमा उडेको जहाज दुई मिनेटमै भुईमा झरेको थियो ।