अहमदाबाद विमान दुर्घटनाप्रति प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त, भने-‘यो हृदयविदारक छ’

दियोपोस्ट संवाददाता  

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबादमा भएको एयर इण्डियाको विमान दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। बिहीबार दिउँसो अहमदाबादबाट लन्डनको ग्याटविकका लागि उडेको विमान उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त भएको हो।

सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै प्रधानमन्त्री मोदीले घटनालाई शब्दमा व्यक्त गर्न नसकिने पीडादायी क्षण भनेका छन्। उनले लेखेका छन्, ‘यो हृदयविदारक छ। यस दुःखको घडीमा प्रभावित सबैप्रति मेरो समवेदना छ।’

प्रधानमन्त्रीले दुर्घटनाबाट प्रभावितहरूलाई सहयोग गर्न सम्बन्धित मन्त्री र अधिकारीहरूसँग आफू निरन्तर सम्पर्कमा रहेको पनि बताएका छन्।
दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ भने घटनास्थलमा उद्धार कार्य जारी रहेको स्थानीय सञ्चार माध्यमले जनाएका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी छ।