अहमदाबाद विमान दुर्घटना अपडेट : डेढ सय यात्रुको ‘शव’ अस्पतालमा

दियोपोस्ट संवाददाता  

नयाँ दिल्ली । भारतको गुजरातस्थित अहमदाबादमा दुर्घटनाग्रस्त एयर इण्डियाको विमानभित्र रहेका डेढ सय यात्रुको शव अहमदावादस्थित सिभिल अस्पतालमा रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । प्लेन पूर्ण रुपमा क्षतबिक्षत भएका कारण सबै यात्रुको मृत्यु भएको हुन सक्ने भारतीय संचारमाध्यमले बताएका छन् ।

बिमानमा सवार २४२ मध्ये मृत्यु हुनेको संख्या आधिकारिक रुपमा पुष्टि भएको छैन । यद्यपी, यात्रु र चालक दलका सदस्यहरु कोही पनि जीवित रहने सम्भावना कम रहेको उद्धारकर्मी र सुरक्षा अधिकारीहरुलाई उदृत गर्दै भारतीय मिडियाले उल्लेख गरेका छन् ।

अहिले अहमदाबाद बिमानस्थल बन्द गरिएको छ भने दुर्घटनास्थलबाट अस्पताल जाने बाटोमा अरु गाडी बन्द गरेर एम्बुलेन्स तथा दमकलमात्र प्रवेश गर्न दिइएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार विमान मेघाणी नगरस्थित बीजे मेडिकल कलेजको होस्टेलमा ठोक्किएको थियो । भारतीय सञ्चार माध्यमहरूका अनुसार दुर्घटनामा होस्टेलमा रहेका मेडिकल कलेजका २० विद्यार्थी पनि घाइते भएका छन् ।

उक्त जहाज क्याप्टेन सुमीत सभरवाल र फर्स्ट अफिसर क्लाइभ कुन्दरले उडाइरहेका थिए । क्याप्टेन सभरवालसँग ८ हजार २ सय घण्टा र कोपाइलट कुन्दरसँग १ हजार १ सय घण्टाको अनुभव रहेको भारतको नागर विमानन महानिर्देशनालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि सन् १९८८ पनि यहि विमानस्थलमा विमान दुर्घटना हुँदा १३३ जनाको ज्यान गएको थियो ।

सिफारिस