काठमाडौं, १९ जेठ । बहिनी मनिषा घर्तिमगरको रहस्यमयि मृत्युपछि शोकमा रहेका नेपाली फूटबलर विमल घर्तिमगरले फेसबुकमा बहिनीको सम्झनामा सन्देश लेखेका छन् । आफूले बाल्यकालमै बाबु गुमाएको र त्यही बाबु गुमाएको पीडा नभुल्दै फेरी अर्को पीडा परेको उनले लेखेका छन् । सामाजिक सञ्जाल फेसबुकमा विमलले देशको लागि लड्ने मान्छेलाई कुनै सुरक्षा नभएको भन्दै सरकारलाई समेत प्रश्न गरेका छन् । ‘सानो छँदा बाबु गुमाएँ, बाबु पनि देशको लागि लड्नु हुन्थ्यो ।
विस्तारै त्यो पीडा भूल्दै जाँदा १० वर्ष भको थियो । आज अर्को पीडा थपियो,’ विमलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मैले पनि देशको लागि कति गरेँ तर मेरो घरमा यस्तो हुँदा सरकारले केही गरेन भने या देशको लागि गरेर के काम ? देशको लागि गर्नेलाई सुरक्षा छैन भने आम नेपाली जनता कसरी नेपालमा बस्नु ?’
बिमलले हत्यारालाई कारबाही नभए आफूले बहिनीको लागि लड्नु पर्ने बताएका छन् । ‘नेपालमा मेरो बहीनीको हत्या गर्ने मान्छेलाई कारिबाही नभए यो देशका लागि मैले के गर्नु ? आज म रोइरहेको छु, भोली कोही रोहेको होला मलाई सबैको साथ चाहिएको छ । देशको लागि लडेँ अब बहिनीको लागि लड्छु ।’
फूटबलर बिमलकी बहिनी मनिषाको गत बुधबार आफ्नै घर नवलपरासी नगरपालिका ८ स्थित आफ्नै घरमा रहस्यमयि तरिकाले मृत्यु भएको थियो ।
उनले यस्तो लेखे ।