आप्रवासीको अवस्थाप्रति राष्ट्रसंघीय प्रमुख चिन्तित

diyopost.com
bestnp  बुधबार, जेठ १९, २०७३ | ८:३७:१६

संयुक्त राष्ट्रसंघ, १९ जेठ । संयुक्त राष्ट्रसंघीय महासचिव बान कि मुनले पछिल्लो समयमा आप्रवासीहरु एक देशबाट अर्का देशमा जाने क्रममा बढ्दै गएको खतराप्रति चिन्ता व्यक्त गरेका छन् ।

युरोप प्रवेशका क्रममा भूमध्यसागरमा भएका डुंगा दुर्घटनाहरुमा कैयौँ आप्रवासीको ज्यान जाने गरेकोले त्यसले आफू दुःखी भएको महासचिव बानले बताएको हो ।

उनले आप्रवासीको ज्यानजाने क्रम पछिल्लो समयमा बढ्दै गएको भन्दै त्यसको समाधानका लागि सबैको चासो हुनसपर्नेमा पनि जोड जोड दिए ।

गत हप्तापनि उक्त भूमध्यसागरमा भएको यस्तै डुंगा दुर्घटनामा परी महिला, बालबालिकासहित सयजनाभन्दा बढीको ज्यान गएको थियो ।

उनका प्रवक्ता स्टेफन डुजारिकले मङ्गलबार प्रकाशन गर्नुभएको विज्ञप्तिमा महासचिव बानले उक्त दुर्घटनाहरुबाट आफू निकै दुःखी भएको बताइएको छ ।

उक्त विज्ञप्तिमार्फत उनले त्यस दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका थिए ।

आप्रवासीको समस्यका कारण युरोप तथा अन्य क्षेत्रमा पनि पछिल्ला वर्षहरुमा व्यापक मात्रामा उत्पन्न भएकोतर्फ सबैको ध्यानाकर्षण हुनुपर्ने पनि महासचिव बानले बताएका छन् ।

आप्रवासी दुर्घटना बढ्यो
यसैबीच प्राप्त अर्को एक समाचारअनुसार यसवर्ष आप्रवासीको दुर्घटना पहिलेको तुलनामा झन बढेको पाइएको छ ।
युरोप छिर्ने आप्रवासीको सङ्ख्या प्रतिदिन बढ्दो रहेको र यसका कारण उनीहरुको डुंगाको यात्रा पनि जोखिमपूर्ण हुदै गएको समाचारमा जनाइएको छ ।

पछिल्लो एक तथ्याङ्कअनुसार सन् २०१६ को सुरुदेखि नै भूमध्यसागरमै भएका यस्ता डुंगा दुर्घटनामा परी करिब दुई हजार ५१० आप्रवासीको ज्यान गइसकेको छ ।

तर गतवर्ष यसै अवधिमा भने यसरी ज्यान जाने नागरिकको सङ्ख्या एक हजार ८०० मात्र थियो ।
यसरी हेर्दा यसवर्षको सुरुदेखि नै आप्रवासीको सुरक्षाको अवस्था ह्रासोन्मुख अवस्थामा पाइएको हो । यो अवस्थाप्रति सबै चिन्तित हुनुपर्नेमा महासचिवले जोड दिएकोे हो ।

गतहप्तामात्र यो भूमध्यसागर पार गर्न खोज्दा भएको दुर्घटनामा परी ८०० जनाभन्दा बढीको ज्यान गएको थियो ।
त्यस दुर्घटनामा उल्लेख्य सङ्ख्यामा बालबालिका र महिला पनि परेका थिए । ती आप्रवासीको सङ्ख्या निकै धेरै रहेको र जबर्जस्ती पार गर्नखोज्दा यस्तो दुर्घटना भएको अधिकारीहरुले जनाएका थिए ।

पछिल्ला वर्षहरुमा विश्वमा बढ्दोमात्रामा हिंसा र आतङ्क फैलिएको र यसका कारण नागरिकले आन्तरिक र वाह्य शरणार्थीका रुपमा जिवन जिउन बाध्य हुनुपरेको छ ।

सिरिया, इराक, यमन र अफगानिस्तानमा हिंसा जारी छ । यी देशबाट पछिल्ला समयमा लाखौँ लाख नागरिक देश छोडेर शरणार्थीका रुपमा बाहिरिएका छन् ।

सम्बन्धित खबर