
काठमाडौँ, जेठ १७ । नेपाल राष्ट्र बैँकले एनआइसी एसिया बैँकमाथि सुक्ष्म अध्ययन शुरु गरेको छ । २ महिना अघिदेखि एनआइसी एसिया बैँकको तीन सय भन्दा बढी फाइलहरुमाथि राष्ट्र बैँकले सुुक्ष्म अध्ययन थालेको हो ।
केन्द्रिय बैँकले प्रदान गरेको निर्देशीत कर्जालाई मनोमानी ढंगबाट खर्च गरेको र दोहोरो ब्यालेन्ससिट बनाएर कर्जा प्रवाह गरेको भन्दै राष्ट्र बैँकको सुपरिवेक्षण विभागले सो बैँकमाथि निगरानी बढाएको हो ।
ठुलो विज्ञापन र चर्चाका साथ उपस्थिती बलियो बनाउदै आएको भएपनि बैँकमा खराब कर्जा (ब्याड डेब्ट) बढेपछि एनआइसी एसिया गम्भिर समस्यामा फस्न सक्ने आँकलन गर्दै केन्द्रिय बैँकले आशंकित फाइलहरुका सुक्ष्म अध्ययन थालेको हो ।
अध्ययनपछि एनआइसी एसिया बैँक ठुलो जोखिममा परेको समेत राष्ट्र बैँकले बताएको छ । एनआइसी एसिया बैँकका प्रमुख अर्जुन खनियाँ भने राष्ट्र बैँकले सो फाइलहरु अध्ययन गरिसकेको र रिपोर्ट आउन बाँकी रहेको बताउँछन् । करिब ३ अर्ब निर्देशित कर्जालाई मनलाग्दी ढंगबाट आफुअनुकुल खर्च गरेपछि सो रकमलाइ तत्काल प्रोभिजनिङ गर्न समेत राष्ट्र बैँकले निर्देशन दिएको छ । निर्देशित कर्जा लिएर उदेश्यअनुसारको काम नगरेको र कर्जाबाट शेयर समेत खरिद गरेको भेटिएपछि राष्ट्र बैँक एनआइसी एसियाप्रति आक्रमक बनेको हो ।
राष्ट्र बैँककै कर्मचारीहरु लाई मिलाएर एनआइसी एसिया बैँक अगाडी बढेको थियो । तर, बैँक व्यवस्थापन भित्र गम्भिर त्रुटी भेटिएपछि राष्ट्र बैँक आक्रमक बनेको हो । राष्ट्र बैङ्कले पहिलो चरणमा बोर्डसँग बैठक गरेर बैङ्कमा देखिएको समस्याका बारेमा जानकारी दिएको छ । एनआईसी एसियाको सञ्चालक समितिले पनि बैङ्कमा व्यवस्थापनले गलत अभ्यास गरेको निष्कर्ष निकालेको छ ।
एनआइसी एसिया बैँकमा व्यवस्थापकिय कमजोर भएको तथ्य यसअघि नै सार्वजनिक भएको थियो । स्वीफ्ट ह्याक प्रकरणले निकै नै कमजोर बनेको एनआइसी एसिया पछिल्लो चरण अत्याधिक विज्ञापन र चर्को कर्जामार्फत एकाएक पुनः चर्चामा आएको थियो । बैँक भित्र कर्मचारीको शोषण देखि मिलेमतोमा धेरै सर्वसाधारणको सम्पत्ती कब्जा गरेको तथ्य समेत प्रकाशित भइसकेको छ ।
राजधानीकै धापासीमा रहेको २६ रोपनी ९ आना जग्गा एन आई सी एसिया बैंकले कौडीको भाउमा लिलामी गरेको तथ्य समेत सार्वजनिक भइसकेको छ । उच्च तहका व्यवस्थापकको मिलेमतोमा सो जग्गा कब्जा गरि बैँकको मुख्यालय बनाउने एनआइसी एसियाले तयारी थालेको थियो ।
त्यतिमात्र होइन सुर्खेतमा बसेर व्यवसाय गर्ने अलि दम्पत्तीलाई समेत एनआइसी एसिया बैँकले सडकमा पुर्याइदिएको तथ्य यसअघि दियोपोस्टमा प्रकाशित भइसकेको छ । उनिसंग भएको करिब ६ करोड बराबरको सम्पत्ती एनआइसी एसियाले मिलेमतोमार्फत ८७ लाखमा लिलाम गरेको थियो । लिलामी गर्दा हुनुपर्ने प्रक्रियासमेत पुरा नगरि बैँकले ठाडो लिलामी गरेको थियो ।
यी र यस्ता धेरै कमजोरीहरु भेट्टिएपछि राष्ट्र बैँकले एनआइसी एसिया बैँकको क्रियाकलाप र कारोबारमाथि अध्ययन थालेको हो । विशाल ग्रुप मुख्य प्रबन्धक रहेको यो बैँकले आफ्ना गल्ती कमजोर लुकाउन विज्ञापनमा बार्षिक पचास करोड खर्च गरेर ग्राहक आकर्षीत गर्दै आएको छ ।