काठमाडौं, २३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विवादास्पद युवा नेता महेश बस्नेतलाई गृहमन्त्री बनाउने तयारी गरेका छन् । सांसद अपहरणदेखि मधेशवादी सांसदलाई रिसोर्टमा राखेर सत्ता जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका बस्नेतलाई शुक्रबार नै गृहमन्त्री बनाउने ओलीको तयारी थियो ।
तर, पार्टीकै ईश्वर पोखरेल, शंकर पोखरेल लगायत नेताहरुले बालुवाटारमै पुगेर विरोधगरेपछि ओलीले गृहमन्त्री आफैले राखेका छन् ।
बिना विभागिय निवर्तमान उपप्रधानमन्त्री ईश्वर पोखरेलले बालुवाटारमै गृहमन्त्रालय आफूले पाउनुपर्ने माग गरेका थिए । तर, विभिन्न काण्डमा मुछिएका पोखरेललाई नियुक्त गर्नुभन्दा उनले केही समय गृहमन्त्रालय होल्ड गरेको विश्वस्त स्रोतले बतायो ।
यता यसअघि गृहमन्त्री रहेका पूर्व माओवादी खेमाका नेता राम बहादुर थापा बादलले पनि गृहमन्त्रीमा आफ्नो मान्छे हुनुपर्ने भन्दै भाँजो हालेपछि बस्नेतको गृहमन्त्री बन्ने सपना शुक्रबारका लागि टरेको थियो । भक्तपुरबाट प्रतिनिधित्व गर्ने बस्नेत लामो युवा संघका पूर्व अध्यक्ष हुन् । उनीमाथि संसद अपहरण गरेको आरोप छ ।
विवादास्पद छवि निर्माण गरेर सरकारलाई नै बद्नाम गरेको भन्दै बस्नेतलाई रोक्न एमालेमा एउटा समुह नै क्रियाशिल छ । उनीहरुले बस्नेतलाई रोक्न सामाजिक सञ्जालबाटै विभिन्न नेताहरुलाई सन्देश पठाउने कार्य गरेको स्रोतले बतायो ।
‘बस्नेत कस्तो मान्छे भन्ने हामीलाई थाहा छ । उसलाई गृहमन्त्री बनायो भने अपराध नियन्त्रण हुँदैन । उल्टै अपराध बढेर समाज ध्वस्त हुन्छ,’ ओली समुहकै एक नेताले भनिन्,‘हामीले राजनीति गरेको हाम्रा नेताहरुलाई मन पर्दैन तर, बस्नेतहरु गृहमन्त्री बन्दा नेताहरुलाई सहज हुँदो रहेछ । हामीले रोक्नका लागि विभिन्न नेतालाई खबरदारी गरेका छौँ ।’