स्यालुट नगरेको भन्दै जवानलाई कुटपीट गर्ने इन्सपेक्टरले झुलाए छुवाछुत गर्ने घरबेटीको मुद्दा !

स्यालुट नगरेको भन्दै जवानलाई कुटपीट गर्ने इन्सपेक्टरले झुलाए छुवाछुत गर्ने घरबेटीको मुद्दा !

काठमाडौं, ४ असार । जात थाहा पाएपछि कोठा भाडामा दिन अस्विकार गर्ने घरबेटी विरुद्ध जाहेरी दिन भन्दै विहिबार महानगरीय प्रहरी बृत्त सिंहदरबारमा पत्रकारहरुको भिड थियो । करिब ४० जना पत्रकार÷सञ्चारकर्मी लिएर जाहेरी दिन पुगेकी सञ्चारकर्मी रुपा सुनार करिब १२ बजेतिर बृत्तमा पुगेकी थिइन् ।

उनलाई लागेको थियो घरबेटीले बोलेको अडियो प्रमाण लगायत जाहेरी भएपछि प्रहरीले जाहेरी दर्ता गर्छ अनि पिडकमाथि कारबाही अघि बढ्छ । तर, प्रहरी कार्यालय भित्र पुगेपछि केही घण्टा डिएसपी हरि बहादुर बस्न्यात ‘किलो वान’ अर्थात काठमाडौं परिसरले बोलाएको बैठकमा गएको भन्दै कुराइयो । करिब ४ घण्टासम्म पनि डिएसपी आएनन् । उनी नआएपनि पीडितसँग प्रहरी निरिक्षक विक्रम सुवेदीले ‘छलफल’ गरिरहेका थिए ।


केहीबेर पछि डिएसपी बस्न्यात नआउँदै प्रहरी निरिक्षक सुवेदीले पीडितको जाहेरी दर्ता हुन नसक्ने बताए । पीडितले दिएको अडियो रेकर्ड सुनेपछि उनले अडियोलाई पुष्टि हुने आधार नभएको भन्दै जाहेरी लिन नमिल्ने तर्क गरेपछि अधिकारकर्मीहरु आक्रोशित बने । त्यसैक्रममा एक दैनिक पत्रिकाकी पत्रकारलाई प्रहरी निरिक्षक सुवेदीले अपशब्द समेत बोले । केही बेरअघि दर्ता हुँदैन भनिएको जाहेरी डिएसपी बस्न्यात आएपछि भने दर्ता भयो ।


दर्ता गर्नै मिल्दैन भन्दै पीडित र अधिकारकर्मीमाथि नै जाइलाग्ने प्रहरी निरिक्षक सुवेदीले यसअघि नै सिंहदरबारभित्रै एउटा घटना घटाएको पाइएको छ ।

उनले ड्युटीमै रहेका प्रहरी जवान बल बहादुर विश्वकर्मालाई कुटपीट गरेको पाइएको हो । सलाम गर्न नभ्याएको भन्दै जवान बलबहादुरलाई कुटपीट गरेको भिडियो नै २०७६ फागुनमा सार्वजनिक भएको थियो ।

भिडियो

उक्त भिडियोमा उनले ड्युटीमै रहेका प्रहरी कर्मचारीलाई कुटपीट गरेको स्पष्ट देखिन्छ । प्रहरी कर्मचारीमाथि कुटपीट गर्ने सुवेदीलाई तालकदार निकायले हालसम्म कुनै कारबाही गरेको छैन । उल्टै उक्त घटना सार्वजनिक गरेको अभियोगमा अन्य प्रहरीलाई कारबाही गरिएको छ । पीडितलाई अन्यत्रै सरुवा गरिएको छ । सुवेदीले विकलाई आक्रमण गर्दा छुट्याउन खोज्ने असई साजन डांगीलाई सरुवा गरेर दाङ पठाइएको छ ।


जाहेरी समेत दर्ता गर्न अस्विकार गर्ने प्रहरी इन्सपेक्टर सुवेदीकै मातहतमा पीडित रुपा सुनारको मुद्दा छानबीन भए पीडकले उन्मुक्ति पाउने आशंका बढेको छ । ‘दलितको मुद्दामा उहाँ अन्यन्तै खराब नेचरको हुनुहुन्छ । दर्ता नै गर्न अस्विकार गर्नुमा डिएसपी सापको होइन सुवेदी सरको गल्ती छ,’ बृत्तमा कार्यरत एक प्रहरी जवानले भने,‘यहाँ भित्र त उहाँले तल्लो जातको व्यक्ति देखिसहनु हुन्न । यसअघि बलबहादुरलाई पनि उहाँले जातकै कारण हेपेको हो । उहाँलाई नै यो मुद्दा अनुसन्धानको जिम्मा लगायो भने फितलो अनुसन्धनन गरेर अभियुक्तलाई उन्मुक्ति दिइने खतरा हुन्छ ।’

Trending News