सगरमाथाको चुचुरोमा नरबहादुरले पुर्याए विश्वकपको ट्रफी

दियो पोस्ट  

सिन्धुली । सिन्धुली घर भएका एक युवाले फिफा वर्ल्ड कपको ट्रफि विश्वको सर्वोच्च शिखर सगरमाथामा पुर्याएका छन् । लामो समयदेखि पदयात्री गाइडको रुपमा कार्यरत नरबहादुर अस्तानीले सगरमाथाको चुचुरोका ट्राफी पुर्याएका हुन् । फिफा वल्र्ड कपको ट्रफीको रिप्लिका र २ सय ११ फिफा सदस्य राष्ट्रहरुको झण्डा लिएर सात महादेशका सातवटा अग्ला शिखर चुम्ने अभियान अन्तर्गत सिन्धुलीको मरिण गाउँपलिका २ सिन्धुरेदोभान रातमाटा घर भएका मगरसहितको ९ जनाको टोलीले सगरमाथाको आरोहण गरेको हो ।

अन्तरराष्ट्रिय माउन्टेन गाईड नर बहादुर अस्थानी मगर, ज्ञान बहादुर तामाङ, विक्रम कार्की, राकेश राना मगर, दिपक महत, मिलन थापा, एक भारतिय नागरिक र एस्पिडिसन टिम लिडर आङदावा शेर्पा, मगरको टोलीले गत जेठ १३ गते सगरमाथाको आरोहण गरेको हो । उक्त टोलीले दोश्रो प्रयासमा ट्रफीको रिप्लिकासहित सगरमाथा आरोहण गरेको मगरले बताए । उनी अन्तर्राष्ट्रिय लाइसेन्स प्राप्त माउन्टेन गाइड समेत हुन् । पहिलो पटक जेठ ७ गते कुमारी ज्ञानमाला रनपालसहित १० जनाको टोलीले वल्र्ड कपको ट्रफिको रिप्लिका बोकेर सगरमाथा चढ्ने प्रयास गरेको थियो । तर, आठ हजार चार सय मिटरमा पुग्दा लेक लागेर उनीहरु फिर्ता भएका थिए । ‘५०० मिटर चढ्न बाँकी थियो । चिसो हावा चलेका कारण एक महिलासहित तीनजना बेस क्याम्पमा फर्किनुभयो । हामी भने समिटमा ट्रफि बिना पुग्यौँ,’ उनले भने ।

ट्रफिको वजन झण्डै १० केजि रहेको र अक्सिजन लगायतका सामाग्रीपनि बोक्नुपरेको हुँदा ७ जनाको टोलीले ट्रफि बोकेर लान असंभव भएपछि सगरमाथा चढेर फर्किएको मगरले बताए । पहिलो प्रयासमा ट्रफि सगरमाथा पु¥याउन नसकेपछि पुनः जेठ १३ गते कुमारी ज्ञानमालाबाहेक ९ जनाको टोलीले ट्रफिसहित सगरमाथाको आरोहण गरेको थियो ।

सातवटा महादेशको हिमाल आरोहणपछि उक्त ट्रफी, झण्डा आरोहणका क्रममा उपयोग भएका सामाग्रीहरु कतारमा हुने विश्वकपको उद्घाटनमा हस्तान्तरण गर्ने योजना रहेको आयोजकले जनाएको छ । नेपाली खेलकुद र पर्यटनलाई विश्व सामु अझै परिचित गराउने र विश्व जलवायु परिवर्तनका कारण हिमाल पग्लदै गएकोमा यसलाई रोक्नका लागि सन्देश दिन अभियान शुरु गरिएको मगारले बताए ।
फिफा विश्वकपमार्फत सबैलाई जोड्र्दै हिमालय क्षेत्रमा विश्व तापक्रममा भएको वृद्धिको प्रभावबारे सचेतना फैलाउने लक्ष्य समेत राखेको उनले बताए । कोरोनाका कारण खेलकुद, अर्थतन्त्र र पर्यटन क्षेत्रलाई नराम्रो असर गरेको अवस्थामा ती क्षेत्रलाई आफ्नो अभियानले टेवा पुग्ने उनको विश्वास छ । विश्वको सबैभन्दा धेरै मानिसहरुको ध्यान अहिले फुटबलमा रहेको भन्दै विश्व शान्तिको लागि नेपालको तर्फबाट आफूहरुले प्रतिनिधित्व गर्न लागेको मगरले अस्तानी मगरले बताए ।