बागमती प्रदेश तेक्वान्दोको आवाशिय भवन निर्माणमा बजेट बिनियोजन हुन्छ : ईन्द्र बाँनिया

दियो पोस्ट  

काठमाडौं । नेपाल तेक्वान्दो संघ बाग्मती प्रदेशले ४२ औं ब्ल्याकवेल्ट ग्रेडिङमा उत्तीर्ण हुन सफललाई शनिबार प्रमाण पत्र प्रदान गरेको छ । प्रदेशले दोश्रोबाट तेश्रो डानमा पदोन्नती भएका ५२ जनालाई ललितपुरको एक पार्टी प्यालेसमा आयोजित दीक्षान्त समारोहमा प्रमाण पत्र प्रदान गरेको हो । सहभागी ५२ मध्ये सबै तेश्रो डानमा पदोन्नती भएका हुन् । ग्रेडिङमा बाग्मती प्रदेशका १३ जिल्लाबाटै सहभागी थिए । सहभागीलाई उज्ज्वल श्रेष्ठको सहयोगमा पाँचौं डान रामचन्द्र ब्यञ्जनकारले प्रशिक्षण दिएका थिए भने छैटौं डान राजेश प्रजापतिले परीक्षा लिएका थिए ।

नेपाली कांग्रेस बाग्मती प्रदेशका सभापति इन्द्र बानियाँ, नेपाल तेक्वान्दो संघ बाग्मती प्रदेशका अध्यक्ष केशव पुरीलगायतले प्रमाण पत्र प्रदान गरे । सोही अवसरमा तेक्वान्दोको विकास र विस्तारमा सहयोग पु¥याएका नवनिर्वाचित मेयर र वडा अध्यक्षलाई सम्मान गरिएको थियो ।

 

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली कांग्रेस बागमति प्रदेशको संसदीय दलका नेता समेत रहेका बानियाँले तेक्वान्दो प्रदेशको आवाशिय भवन निर्माणमा आफूले सक्दो सहयोग गर्ने घोषणा गरे । नागार्जुन नगरपालिकाले उपलब्ध गराएको जग्गामा निर्माण हुने भवनमा प्रदेश सरकारले बजेट बिनियोजन गरिदिने उनको प्रतिबद्धता थियो ।

कार्यक्रममा नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत, किर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मी लगायत मेयर र वडाध्यक्षहरुलाई सम्मान पत्र सहित बधाई दिइएको थियो । संघका अध्यक्ष तथा सभापति केशव पुरीले नेपाल सरकारले तेक्वान्दो खेलाडीको बृत्ति विकासमा ध्यान नदिएको बताए ।