छुट्टाछुट्टै ठाँउबाट अवैध लागूऔषधसहित २३ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न ठाँउबाट अवैध लागूऔषधसहित २३ जना पक्राउ परेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा १ सय ९० केजी ८ ग्रामसहित १२ जना पक्राउ परेका छन । पक्राउ पर्नेहरूमा बाग्मती प्रदेश–०१–०२५ च ३३८४ नम्बरको कारमा सवार ४ जना, डिएल १ जिसि ३०३५ नम्बरको ट्रकका चालक, डिएल १२ सिए ०५७८ नम्बरको स्कारपियोमा सवार ५ जना र प्र.२–०३–००७ प.४७५४ नम्बरको मोटरसाइकलमा सवार २ जना गरी जम्मा १२ जना रहेका छन् । ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनीहरूलाई गएराति पक्राउ गरेको हो ।

यसैगरी काठमाडौंको महानगरपालिका–१६ माछापोखरीस्थित सडक छेउबाट अवैध लागूऔषध गाँजा करिब २ सय ग्रामसहित ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने सिन्धुपाल्चोक घर भएका १९ वर्षीय प्रदिप गिरीसहित ७ जना रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त गाँजासहित सोमबार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी काठमाडौंकै तारकेश्वर नगरपालिका–१० लोकतान्त्रिक चोकबाट अवैध लागूऔषध गाँजा करिब ३ केजीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हाल सोही ठाँउमा डेरा गरी बस्ने रूपन्देही बुटवल उपमहानगरपालिका–११ घर भएका २५ वर्षीय सुनिल वादी रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उनलाई उनकै कोठाबाट उक्त गाँजासहित सोमबार साँझ पक्राउ गरेको हो ।

साथै कास्कीको पोखरा महानगरपालिका–९ कृष्णटोलबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ग्रामसहित सोमबार राति एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाँउ बस्ने २८ वर्षीय सुरज बिक रहेका छन् ।

यसैगरी झापाको शिवसताक्षी नगरपालिका–९ झरना टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २४ वर्षीया झरना विक र कमल गाउँपालिका–३ बस्ने २४ वर्षीया सन्ध्या राई रहेका छन् । विकले आफ्नै घरमा लागूऔषध बिक्री वितरण गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले उक्त पदार्थसहित उनीहरूलाई सोमबार राति पक्राउ गरेको हो ।

यसैगरी झापाकै मेचीनगर नगरपालिका–८ निन्दाखोला पुल नजिक छेउको झाडीबाट वेवारिसे अवस्थामा प्लाष्टिकको झोलामा रहेको लागूऔषध मेथामफेटामाइन जस्तो देखिने पदार्थ ८ सय ७० ग्राम सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उक्त लागूऔषध फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।