काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध रूपमा भित्रिएको सुन प्रकरणमा भन्सार विभागले छानबिन समिति गठन गरेको छ । विभागले बिहीबार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको स्रोतले बतायो ।
स्रोतका अनुसार अनुसन्धानका लागि जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन गर्ने तयारी गरिएको छ । राजस्व अनुसन्धान विभागको विशेष सुराकीका आधारमा मंगलबार साँझ ट्याक्सीमा राखेर भन्सारबाहिर पुर्याएको करिब १०० किलो सुन बरामद गरिएको थियो । सुन बरामदपछि अनुसन्धानका क्रममा भारतीय नागरिकसहित ६ जना पक्राउ परेका छन् ।