धादिङ । धादिङको ज्वालामुखि गाउँपालिका ३ स्थित शमीभञ्ज्याङ माध्यमिक विद्यालयका शिक्षकहरुको तलब रोकिएको छ । ज्वालामुखि गाउँपालिकाले गैरकानुनी रुपमा शिक्षकको तलब विगत ३ महिनादेखि राकेको हो । प्रधानाध्यापक नियुक्ती विवादमा अदालतले आदेश दिएको भन्दै गाउँपालिकाले तलब रोकेको छ । ‘विगत तीन महिनादेखि हामीले तलब पाएका छैनौँ । गाउँपालिकाले अदालतको आदेश भएका कारण देखाए रोकेको छ,’ एक शिक्षकले दियोपोस्टसँग भने,‘तलब नपाएर हामीले नियमित गतिविधि समेत गर्न समस्या भएको छ ।’
तत्कालिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन भट्टले आफु जापान उड्नुअघि निम्नमाध्यमिक तृतिय शिक्षक बद्रि अर्याललाई माध्यमिक तहको प्राधानाध्यापक नियुक्त गरेका थिए । सोही विद्यालयमा कार्यरत माध्यमिक तहका स्थायी दरबन्दी रहेका सिनियर शिक्षक हेमराज भट्टसहितका शिक्षकलाई लत्याएर कांग्रेस निकट शिक्षक संगठनका सचिव बद्रि अर्याललाई नियुक्त गरिएको आरोप थियो ।
नियुक्तीबाट असन्तुष्ट रहेका शिक्षक हेमराज भट्टले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । उनको रिटमा सुनुवाई गर्दै गत असार २ गते विद्यालय व्यवस्थापन समितिको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । आदेशपछि गाउँपालिकाले शिक्षकहरुको तलब रोकेको हो ।
नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष यमनाथ दनईले कांग्रेसकै शिक्षक संगठनका नेता शुभचिन्तक समेत रहेका बद्रि अर्याललाई प्राधानाध्यापक बनाउन भूमिका खेलेका थिए । तर, अदालतले रोक लगाएपछि प्रतिशोधमा शिक्षकहरुको तलब रोक्का गरेको आरोप छ ।
अदालतमा मुद्दा विचाराधिन हुँदा हुँदै प्रअ नियुक्तीको प्रक्रिया शुरु
यता उच्च अदालतले प्राधानाध्यापक नियुक्तीको विषयमा अन्तरिम आदेश दिएपछि यो मुद्दा अहिले विचाराधिन छ । अदालतमा मुद्दा विचाराधिन हुँदा हुँदै ज्वालामुखि गाउँपालिकाले गैरकानुनी रुपमा प्राधानाध्यापक नियुक्ती प्रक्रिया थालनी गरेको छ ।
गत साउन ११ गते सार्वजनिक सुचना निकालेर प्रअ नियुक्तीको प्रक्रिया सुचारु गरेको हो । प्रकाशित सुचना अनुसार ३ दिन भित्र शिक्षकहरुले आफ्ना कागजात पेश गर्न भनिएको छ । स्रोतका अनुसार कांग्रेस निकट एक व्यक्तिलाई पुन प्रअ नियुक्ती गर्ने प्रयोजनका लागि यो सुचना प्रकाशन गरिएको हो ।
नेपालको शिक्षा ऐन, २०४८, शिक्षा नियमावली २०५९ र शिक्षक सेवा आयोग नियमावली २०५७ विपरित गाउँपालिकाले पुन प्रअ नियुक्त गर्न खोजेको भन्दै विरोध शुरु भएको छ ।