
काठमाडौं, २४ असार । आफूलाई चर्चित टेलिभिजन पत्रकार दाबी गर्ने ऋषी धमलाद्वारा सञ्चालित प्राइम टाइम टेलिभिजनमा कार्यरत श्रमजीवि पत्रकारमाथि चरम ज्यादती भएको पाइएको छ ।
उक्त टिभिले जबरजस्ती रुपमा कर्मचारी र श्रमजिवि पत्रकारलाई निकालेको पाइएको हो । कोरोना भाइरस कोभिड १९ को महामारीबीच प्राइम टिभिमा कार्यरत सञ्चारकर्मी तथा कर्मचारीमाथि ज्यादती गरेको पाइएको हो ।
धमलाले आफ्नो सञ्चार गृहमा कार्यरत कर्मचारी हटाउन एभिन्युज टेलिभिजनबाट अनैतिक कार्य गरेको अभियोगमा निकालिएका निर्जल श्रेष्ठलाई अघि सारेका छन् । जसले यसअघि नै प्राइम टाइम टेलिभिजनकै सामन खरिदमा २० लाख रुपैयाँ हिनामिना गरेको आरोप खेपेका थिए । सोही आरोपमा बर्खास्तीमा परेका उनलाई श्रमजिविमाथि ज्यादती गर्नकै लागि अघि सारिएको कर्मचारीहरुको आरोप छ ।
एमसीआर इन्जिनीयर उत्तम श्रेष्ठ, रिसेप्सनिस्ट राधा केसी, संवाददाताहरु सिर्जना कार्की र गीताञ्जली अधिकारीलगायत छन् एक दर्जन कर्मचारीलाई कोरोना महामारीबीच अन्यायपुर्वक निकालिएको पीडितले बताए ।
पीडित कर्मचारीले पत्रकार महासंघलाई समेत गुहार मागीसकेका छन् । उनीहरुले लकडाउन अवधि वैशाख र जेठको तलब समेत नपाएको बताइएको छ ।
म्यानेजरको रुपमा ल्याइएका जनक पण्डितले टेलिभिजनमा कार्यरत कर्मचारीमाथि कार्यकक्षमै मदिरा सेवन गरेर अपशब्द बोल्ने गरेको आरोप छ । तर पण्डित भने उक्त आरोपलाई ठाडै अस्विकार गर्छन् ।
‘म त्यो पदमै छैन भने ममाथि लगाइएको आरोप कसरी सत्य हुन्छ ? यदि मैले त्यस्तो गरेँ भने यहाँ सिसिटिभी हुन्छ,’ पण्डितले दियोपोष्टलाई सम्पर्क गरी भने,‘व्यक्तिगत आक्षेप लगाउनु गलत हो । मैले त्यस्तो गर्ने कुरा कल्पना समेत गर्न सक्दिनँ ।’
टेलिभिजनका सम्पादक बनेर आएका पत्रकार अर्जुन खड्काले राजिनामा दिएका छन् । उनी अहिले नेपाल फ्ल्यास नामक अनलाइनको सम्पादक बनेर गएका छन् ।
टेलिभिजन अन्तर्वार्तामा धमलाको स्वार्थ
उक्त टेलिभिजनमा कार्यरत एक पत्रकारका अनुसार टेलिभिजन प्रस्तोता धमलाले आफूले लिने अन्तर्वार्तामा समेत स्वार्थ हेर्छन् । उनले सुचना र जानकारी भन्दा पनि आफ्नो फाइदा कसरी हुन्छ भन्ने हेर्ने गर्छन् । सोही प्रवृतिका कारण उनले अथाह सम्पत्ति आर्जन गरेका छन् । धादिङको ज्यामरुङका सामान्य व्यक्ति धमला पछिल्लो समय करोडौंका मालिक भएका छन्–कारण पत्रकारीताको अवरणमा अनेक धन्दा । टेलिभिजनमा कार्यरत कर्मचारीबीच उनको कार्यक्रम जनता जान्न चाहान्छन्मा समेत केही व्यक्ति पैसा बुझाएरै आउँछन् । त्यसो त उनको टेलिभिजनको लगानी समेत विवादित व्यक्तिहरुको छ ।
ट्रेडमार्क चोरीका अभियुक्त तथा टेन्सवर्ग बेयरका मालिक तेजेन्द्र खड्कालाई उनले लगानीकर्ताको रुपमा भित्र्याएका थिए । कुनै समय ठेकेदारको रुपमा का मगर्ने देवमान हिराचनले समेत टिभिमा लगानी गरेका थिए । त्यस्तै नेपाली कांग्रेसका नेता दीपक खड्का मात्रै होइन सहकारीको आवरणमा खुलेआम ठगी गर्दै आएका श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीसँग धमलाको उठबस समेत रहस्यमयी छ । उनले लालीगुराँसबाट ठगिएका पीडितहरुको समचार बजाउँछु भन्दै प्रोमो बजाएर धम्काएका थिए । तर, पछि लेनदेनमा सहमति भएपछि भने धमलालाई नै अन्य सञ्चारमाध्यममा आउने समाचार डिल गर्न खटाइएएको थियो ।
पछिल्लो समय धमलाको टेलिभिजनका लगानीकर्ताहरु बीच पानी बाराबारको स्थिति छ ।
लगानीकर्ता हिराचन र तेजेन्द्र खड्काबीच चर्को विवाद छ ।
आफूलाई सत्य र न्यायको पक्षमा रहेको भन्दै आएका धमला आफ्नै सञ्चारगृहमाथि भइरहेको अन्यायमा आफै सामेल भइरहेका छन् । लगानीकर्ताहरुको विवाद, कर्मचारी पत्रकारमाथि ज्यादती भइरहेपछि टेलिभिजन बन्द हुने अवस्थामा पुगेको समेत एक पत्रकारले बताए ।