काठमाडौं, २३ असार । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पाखा लगाउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार बिहान भएको खेलमा अर्जेन्टिना पेनाल्टीमा ३–२ गोलले विजयी बनेको हो ।
निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो । खेलमा अर्जेन्टिनाले शुरुवातमा नै लाउटारो मार्टिनेजको गोलले अग्रता लिएको थियो । तर, दोस्रो हाफमा लुइस डियाजले बराबरी गोल फर्काएका थिए ।
अर्जेन्टिना सन् २०१६ पछि पहिलो पटक कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको हो । अब शनिबार अर्जेन्टिनाले आफ्नो १५ औँ कोपा अमेरिकाको उपाधिको लागि चिर प्रतिद्वन्द्वी ब्राजिलको सामना गर्नेछ ।
दुई टोली सन् २००७ पछि पहिलो पटक फाइनलमा भिड्न लागेका हुन् ।