काठमाडौं, २४ असार । हाइटीका राष्ट्रपति जोभनेल मोइज निजी निवासमा गरिएको आक्रमणमा मारिएका छन् ।
हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउड जोसेफले एक वक्तव्य जारी गर्दै मोइज हतियारधारीको आक्रमणमा बुधबार मारिएको पुष्टि गरेका हुन् ।
राजधानी पोर्ट–अ–प्रिन्सस्थित राष्ट्रपति निवासमा स्थानीय नेपाली समयअनुसार बुधबार बिहान करिब ११ बजे अज्ञात हतियारधारीले गरेको आक्रमणमा मोइजको ज्यान गएको अन्तरिम प्रधानमन्त्री क्लाउड जोसेफले बताए ।
आक्रमणमा प्रथम महिला घाइते भएकी छन् । अमेरिकाका लागि हाइटीका राजदूत बोचित एडमन्डले प्रथम महिलाको अवस्था गम्भीर रहेको जनाउँदै उपचारका लागि अमेरिकाको फ्लोरिडा लगिएको छ ।
प्रधानमन्त्री जोसेफले ‘राज्यको निरन्तरताका लागि आवश्यक सबै उपायहरू अपनाइएको’ बताएका छन् । उनले देशव्यापी संकटकालको घोषणा गर्दै नागरिकहरूलाई शान्त रहन आग्रह गरेको बीबीसीले उल्लेख गरेको छ ।
राष्ट्रका नाममा सम्बोधन गर्दै जोसेफले ‘हत्यारालाई कानुनी कारबाही गर्ने’ जनाउँदै देशको सुरक्षा स्थिति नियन्त्रणमा रहेको बताएका छन् ।
पछिल्लो समय हाइटमा राजनीतिक अस्थिरता बढ्दै गएको थियो । मोइजले नयाँ प्रधानमन्त्रीका रूपमा नाम घोषणा गरेका एरियल हेनरीले भने शपथ लिइसकेका थिएनन् । घटनापछि छिमेकी डोमिनिकन रिपब्लिकले हाइटीसँगको सीमा बन्द गरेको छ ।
५३ वर्षीय जोभनेल मोइज सन् २०१७ को फेब्रुअरीदेखि हाइटीको राष्ट्रपति थिए । तर पछिल्लो समय विरोधीहरूले उनको राजीनामा माग गर्दै आएका थिए ।
भ्रष्टाचार अभियोगहरूका कारण उनको लोकप्रियता ओरालो लागेको थियो र उनले सरकारविरोधी हिंसात्मक विरोध प्रदर्शनहरूको सामना गर्दै आएका थिए ।
यसै वर्षको सुरुमा राजधानी र देशका अन्य सहरमा उनको राजीनामाको माग गर्दै व्यापक प्रदर्शनहरू भएका थिए ।
विपक्षीहरूले मोइजका पूर्ववर्ती मिसेल मार्टेलीले पद त्याग गरेको मितिबाट ५ वर्ष पुगेको भन्दै उनको कार्यकाल सन् २०२१ को फेब्रुअरी ७ मै सकिएको दाबी गरेका थिए ।
तर मार्टेलीले पद त्यागेको मिति ९सन् २०१६ फेब्रुअरी ७० मा आफूले पद नसम्हालेको भन्दै मोइजले आफ्नो कार्यकाल अझै एक वर्ष बाँकी रहेको बताउने गरेका थिए ।
चुनावमा धाँधली भएको भन्ने आरोपका कारण बीचको एक वर्ष ढिलाइ हुन गएको हो । जसका कारण सन् २०१५ को निर्वाचनको नतिजा रद्द गरेर नयाँ निर्वाचन गरिएको थियो ।
चुनावमा मोइज विजयी भएका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘भयानक हत्याको’ भर्त्सना गर्दै हाइटीका जनताप्रति समवेदना प्रकट गरेका छन् । एजेन्सी