काठमाडौं, ३ साउन । राष्ट्रिय अनुसन्धान ‘गुप्तचर’ विभागबाट अवकाश प्राप्त एक (उपरिक्षक) एसपीले एक महिलाको जीवनमा खेलवाड गरेको पाइएको छ ।
केही वर्षअघि विभागबाट अवकाश पाएका एसपी रमेशजंग विष्टले कलंकी घर भएकी एक महिलालाई विवाह गरेर सम्पत्ति हत्याएपछि घरबाट निकालेको पाइएको हो ।
आजभन्दा ८ महिनाअघि एसपी विष्टले आफूभन्दा आधा उमेर कान्छी ‘रञ्जना विष्ट’ (नाम परिवर्तन)लाई राजधानीको भद्रकालीस्थित मन्दीरमा विवाह गरेका थिए । पहिलो श्रीमती निधन भएपछि दोस्री विवाह गरेका उनले ती महिलालाई विवाहपछि राजधानीको नारायणटारस्थित घरमा भित्र्याएका थिए । उनको घरमा भित्र्याएपछि ती महिलाले आफू बस्दै आएको घरको लाखौँको सामान गरगहना र व्यावसायको सामग्री समेत विष्टको घरमा लगेका थिए । केही महिना उनीहरुबीच सम्बन्ध सुमधुर बन्दै थियो । तर, विवाहपछि विष्टले रञ्जनामाथि श्रीमतीको भन्दा घरेलु कामदारको व्यवहार गरे ।
‘विवाहपछि मलाई घरेलु कामदारको रुपमा व्यवहार हुन थाल्यो । त्यो पनि मैले सहेर बसेँ । तर, केही महिनापछि मैले विवाह दर्ता र श्रीमानको नामबाट नागरिकता मागेँ,’ ती महिलाले दियोपोस्टसँग भनिन्,‘नागरिकता र विवाह दर्ता मागेपछि ममाथि दुर्व्यहार हुन थाल्यो । यहाँसम्म की मलाई उनका भाई मधुकर विष्ट र सुदीपजंग विष्टले कुटपीट पो गर्न थाले ।’
विष्ट दाजु भाईको कुटपीट पछि उनीहरुको मुद्दा प्रहरीसम्म पुगेको थियो । तर, महानगरीय प्रहरी बृत्त बौद्धका तत्कालिन डिएसपी नविन कार्कीले पीडितलाई न्याय दिलाउनुको सट्टा पीडकलाई सहयोग गरेको पीडित महिलाको आरोप छ । ‘प्रहरी कार्यालयमा रहेको महिला कर्मचारीको कुर्सीमै मलाई कुटपीट गर्ने र अन्याय गर्नेहरु बसेका थिए । उनीहरुले कुर्सी नै कब्जा गर्दा पनि त्यहाँका प्रहरी निरिह बने,’ ती पीडित महिलाले दियोपोस्टसँग भनिन्,‘प्रहरीमा उजुरी परेदेखि मलाई घरबाट निकालिएको छ । बाहिर कुनै सामाजिक सञ्जालमा म माथि भएको घटना सार्वजनिक समेत गर्न नपाईने कागजमा हस्ताक्षर गराइएको छ ।’
पीडित महिलाका अनुसार उनलाई विष्ट दाजु भाईले कुटपीटको घटना बाहिर ल्याए कारबाही गर्ने र ज्यानै लिने धम्की दिएका छन् । धम्कीपछि ती पीडित महिला घटना भएको एक महिनासम्म घर समेत जान पाएकी छैनन् ।
‘म अहिले बस्ने ठाउँ समेत नभएर समस्यामा छु । मेरो विवाह अघिको सामान पनि रमेश जंग विष्टकै घरमा कब्जा गरेर राखिएको छ । मलाई यतिबेला आश्रयस्थल चाहिएको छ । विभिन्न निकायमा धाएको छु । तर आश्रयस्थल समेत पाएको छैन,’ पीडित महिलाले दियोपोस्टसँग भनिन्,‘दिनरात रोएर वितेको छ । न कोहीले सुनेको छ मेरो व्यथा ।’
पीडित महिलाका आफन्तले पूर्व एसपी विष्टले विवाह गरेको भिडियो र तस्विर समेत लिएर विभिन्न कार्यालय धाउँदा पनि न्याय नपाएको बताए । घटनाको विषयमा प्रतिक्रिया लिन पूर्व एसपी रमेशजंग विष्टिलाई पटक पटक सम्पर्क गर्दा उनले फोन उठाएनन् ।