अमेरिकन खोप जोनसन एण्ड जोनसन लगाएको १० मिनेटमै धादिङमा एक जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं, ८ साउन । कोरोना भाइरस विरुद्ध अमेरिकन खोप जोनसन एण्ड जोनसन लागाउन हिँडेरै खोप केन्द्र पुगेका एक बृद्धको रहस्यमयी निधन भएको छ । मृत्यु हुनेमा धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ६ घर भएका नर बहादुर श्रेष्ठ रहेका छन् ।

उनको शव पोस्ट मार्टमका लागि धादिङ अस्पतालमा पुर्याइएको छ । निलकण्ठ नगरपालिकाले सुनौलाबजारमा सञ्चालन गरेको खोप केन्द्रमा उनी हिँडेरै पुगेका थिए । खोप लगाएर उनी आधा घण्टासम्म खोप केन्द्रमै बसेको र घर पुगेपछि १० मिनेटमा उनलाई चक्कर लागेको निलकण्ठ नगरपालिकाका स्वास्थ्य प्रमुख विष्णु प्रसाद रिजालले दियोपोस्टलाई बताए ।


निलकण्ठ नगरपालिकाले वडा नम्बर ६ स्थित सुनौला बजार स्वास्थ्य चौकीमा खोप कार्यक्रम सञ्चालन गरेको थियो । स्थानिय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि उनलाई जिल्ला अस्पताल ल्याइएको थियो । जिल्ला अस्पतालमा आएपछि उनको मृत्यु भएको डाक्टरहरुले बताएका थिए ।