निलकण्ठ नगरपालिका फलोअप : ‘अक्सिजन प्लान्ट’को ईन्सपेक्सन रिपोर्ट नै फर्जी !

diyopost.com
दियो पोस्ट  शुक्रबार, साउन १५, २०७८ | २२:४२:१३

धादिङ, १५ साउन । धादिङको नीलकण्ठ नगरपालिकाले कोभिड १९ विशेष अस्पतालमा जडान गरेको अक्सिजन प्लान्टमा तयार पारिएको ईन्सपेक्सन रिपोर्ट नै नक्कली बनाएको पाइएको छ । नगरपालिकाले ठेक्का आह्वान गर्नुभन्दा करिब १५ दिन अघि नै ठेकेदार कम्पनिको नाममा इन्सपेक्सन रिपोर्ट तयार पारिएको विवरणमा उल्लेख छ । ईन्सपेक्सन रिपोर्ट भनेको पूर्वाधार निर्माण भएपछि भुक्तानी दिनुअघि तयार पारिने निरिक्षण प्रतिवेदन हो । तर, यो प्रतिवेदन ठेक्का खोल्नु अघि नै कसरी तयार भयो भन्ने रहस्यमयी प्रश्न उठेको छ ।


नगरप्रमुख भीम प्रसाद ढुंगानाको मिलेमतो र निर्देशनमा अक्सिजन प्लान्ट भनेर घरमा प्रयोग हुने अक्सिजन जेनेरेटर अर्थात कन्सन्ट्रेटर जडान गरेको विषयमा दियोपोस्टमा समाचार प्रकाशन भएको थियो ।


नगरपालिकाले गत साउन १२ गते सार्वजनिक गरेको विवरणमा इन्सपेक्सन रिपोर्ट तयार भएको मिति २०७८ वैशाख २३ गते छ । तर, दियोपोस्टमा समाचार प्रकाशित भएपछि फेरी अर्को इस्पेक्सन रिपोर्ट तयार पारेर राखिएको छ । जसमा भने मिति सच्याएर २०७८ जेठ २३ गते बनाइएको छ ।


उक्त रिपोर्टमा ठेक्का हुनुअघि नै कर्णाली मेडिकेयर प्रा.लीको नाम उल्लेख हुनुले ठेक्कामा मिलेमतो पुष्टि हुने एक अधिकारीले बताए । यद्धपी आफूलाई कर्णाली मेडिकेयरको प्रतिनिधी बताउने ईश्वर सिंखडाले भने चार वटा कम्पनिले ठेक्कामा भाग लिएको र ठेक्का अघि नै आफ्नो कम्पनिको नाम उल्लेख भएको बारे थाहा नभएको बताए ।

बायोमेडिकल रिपोर्ट तयार पार्ने व्यक्ति समेत इन्जिनियर नभएर जिल्ला अस्पतालमै कार्यरत बायोमेडिकल टेक्निसियन अनु बानियाँ भएको देखिन्छ ।


नगरपालिकाले अक्सिजन प्लान्टको ठेक्का निकालेर अक्सिजन प्लान्ट जडान नगरि अक्सिजन कन्सन्ट्रेटर जडान गरेको विषयमा खबर सार्वजनिक भएको थियो ।

कोभिड १९ को दोस्रो महामारीकै बीचमा नगरपालीकाले गत गत जेठ ७ गते अन्नपूर्ण पोस्ट दैनिकमा अक्सिजन प्लान्ट जडानका लागि ठेक्का आह्वान गरेको थियो । नगरप्रमुख ढुंगानाले जिल्लामै पहिलो पटक नगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गर्न लागेको भन्दै मिडियाबाजी गरेका थिए ।

गत जेठ २१ गते कोभिड १९ अस्थायी अस्पतालमा पहिलो पटक २ वटा मिनि अक्सिजन प्लान्ट जडान गरिएको भन्दै समाचार सार्वजनिक भएको थियो । ३३ लाख लगानीमा २ वटा मिनि अक्सिजन प्लान्ट जडान गरिएको भन्ने खबर छापिएको थियो । नगरप्रमुख भिम प्रसाद ढुंगाना र प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले संयुक्त रुपमा उक्त अक्सिजन प्लान्टको उद्घाटन गरेका थिए । उद्घाटन गरेको २ दिनमै अक्सिजन प्लान्ट बिग्रिएपछि सार्वजनिक चासोको विषय बनेको थियो । नगरपालिको प्लान्टको ठेक्का गरेर अक्सिजन जेनेरेटर जडान गरेको कागजातबाट देखिएको थियो ।

अक्सिजन प्लान्टबारे चौतर्फी प्रश्न उठेपछि दियोपोस्टले सुचनाको हक प्रयोग गर्दै गत असार १९ गते सुचना अधिकारीसमक्ष खरिद प्रक्रियाको सम्पूर्ण कागजात माग गरेको थियो । तर, नगरपालिकाले साउन १२ गते सुचना उपलब्ध गराएको थियो । उक्त सुचना उल्लेखित विवरणमा ईन्सपेक्सन रिपोर्टमा वैशाख २३ गतेको मिति उल्लेख छ । तर समाचार प्रकाशित भएपछिको विवरणमा भने जेठ २३ को रिपोर्ट उल्लेख छ ।

सम्बन्धित खबर