लेखकः रुबिना शेख
अनुवादः फूलमती
शान्ताबाई कृष्णाजी काम्बले एक मराठी लेखिका र दलित कार्यकर्ता थिइन् । उनी आफ्नो आत्मकथा लेख्ने पहिलो दलित महिला लेखिका हुन् । उनको पुस्तकले भारतमा दलित समुदायको जीवनको पीडालाई उजागर गरेको छ ।
हिन्दू वर्ण व्यवस्थाको आधारमा जातको नाममा छुवाछुत र भेदभाव थोपरिएको छ । उनले आफ्नो संघर्षलाई शब्दमा वर्णन गरिन् । शान्ताबाई काम्बलेले शिक्षाको माध्यमबाट आफ्नो मात्र होइन आफ्नो दलित समाजको मुक्तिको लागि पनि सोचिन् । उनले दलित समाजको उत्थान र शिक्षाका लागि धेरै काम गरिन् ।
शान्ताबाईले समाजको भ्रष्ट भेदभाव उन्मूलनमा महत्वपूर्ण योगदान पुर्याइन् । स्वतन्त्रतापछिको युगमा दलित लेखकले तीव्र गतिमा लेख्न शुरु गरे । जसमा दलित महिला लेखिकामध्ये शान्ताबाई काम्बले अगाडि थिइन् ।
शान्ताबाईले देशमा दलित महिलाको अवस्था परिवर्तन गर्न आवाज उठाइन् । शान्ताबाई काम्बलेको आत्मकथामा उनले सामाजिक–सांस्कृतिक, राजनीतिक र आर्थिक परिदृश्यमा भेदभाव, लैङ्गिक चेतनाका मुद्दाहरूलाई उठाएकी छन् । शान्ताबाई काम्बलेको आत्मकथाले भेदभावको विषयलाई लिएर अपमानजनक यादहरुलाई उजागर गर्ने प्रयास गरेको देखिन्छ ।
बाल्यकाल
शान्ताबाई काम्बलेको जन्म १ मार्च १९२३ मा सोलापुरको महुद स्थानमा भएको थियो । उनी महर दलित परिवारमा जन्मिएकी हुन् । उनको परिवारको सामाजिक र आर्थिक अवस्था निकै कमजोर थियो ।
त्यतिबेला भारतमा उनीहरूको समुदायका सदस्यहरूलाई शिक्षाको अनुमति थिएन । खासगरी महिला र केटीहरू त्यतिबेला स्कुल जाँदैनथे । तर उनको असाधारण प्रतिभाको कारण उनको आमाबाबुले उनलाई स्कूल पठाउने निर्णय गरे ।
एउटा लेख अनुसार,“अछूत भएको कारण उनलाई कक्षाकोठामा प्रवेश गर्न दिइएन र कक्षाको बाहिर बसेर जे पनि गर्न अनुमति थियो । विद्यालयमा पढ्दा उनले धेरै अपमानजनक अनुभवहरू भोग्नुपरेको थियो ।”
दलित महिला भएकाले धेरै सहनुपरेको थियो । उनले ‘माज्या जन्मेको चित्रकथा’ नामक जीवनीे लेखेकी थिइन् । यस आत्मकथामा उनले आफ्ना तीतो अनुभवहरू कथन गरेकी छन् । विद्यालय, कार्यस्थल र घरमा समेत समाजले भोगेको घोर अपमान बारे लेखिन । उनले आफ्नो आत्मकथामा जात, संस्कृति, श्रम र अवहेलनाका बारेमा लेखेकी छिन् । शान्ताबाई काम्बेलको कामले उनको समुदायको सामूहिक आवाजलाई पनि प्रतिनिधित्व गर्छ ।
जीवन घटनाहरुको अनुभव
जातीय विभेदसँग जोडिएको एउटा घटनाबारे शान्ताबाई लेख्छिन्,‘छ कक्षामा पढ्दा उनी आफ्नो ब्राह्मण साथीलाई विद्यालयमा बोलाउन गइन्, त्यहाँ साथीकी आमाले कराउनुभयो, ‘ए महरकी छोरी, त्यहीँ रोक । भित्र नआऊ । म डराएर एकै ठाउँमा उभिएँ । उनकी आमाले भनिन्, “महरकी छोरीले तिमीलाई बोलाइरहेकी छ । छिटो गर र स्कुल जाउ ।” म स्कुल आएँ तर साथीकी आमाको कुरा कानमा गुन्जिरहेको थियो ! “महारकी छोरी ! त्यहीँ रोक ।”
शान्ताबाईको जीवनको यो घटनाले उच्च जातका ब्राह्मण महिलाहरूले पनि उनलाई दलित भएको कारण कसरी अछूत र हीन ठान्थे भन्ने कुराको झल्को दिन्छ । शान्ताबाई साथीलाई विद्यालय जानको लागि बोलाउन मात्र गएकी थिइन् र त्यहाँ गएपछि अपमानको सामना गर्नुपरेको थियो । शान्ताबाईलाई बाल्यकालमा जातीय, छुवाछुतका कारण धेरै पटक अपमान सहनु परेको थियो ।
विद्यालयमा उनलाई कक्षाकोठाबाहिर बस्न भनियो । उनको नजिकैबाट हिड्ने मानिसहरुले उनीसंग दुर्व्यवहार गर्थे । सानै उमेरमा शान्ताबाई छुवाछुतको प्रचलनबाट विचलित भइन् र उनको स्पर्शले शिक्षकलाई कसरी दूषित बनायो भनेर प्रश्न गथीनर्् ।
शान्ताबाईले आफ्नो विद्यालयका केही शिक्षकहरूका कारण छुवाछुत र अपमानको अनुभव गरेकी थिइन् । यी सबैका कारण उनको मनमा दलित चेतना जागृत भयो ।
सानैमा स्कुलमा भएको अर्को अनुभवबारे शान्ताबाई लेख्छिन्,“उनी बोर्डको परीक्षा दिन जाँदा सबै विद्यार्थी परीक्षा दिन अघि भगवान विठोबाको मन्दिरमा जाने गर्थे । तर शान्ताबाई दलित भएकाले मन्दिर प्रवेश गर्न दिइएन । अन्य उच्च जातका केटाकेटीहरू मन्दिरमा जाने गर्थे तर शान्ताबाईलाई त्यहाँ जानबाट रोक लगाइएको थियो ।”
शान्ताबाईलाई प्रायः आफ्नो बाल्यकालको जातीय क्रुरता, भेदभाव र गरिबीको यादहरुलाई स्मरण गरेको देखिन्छ । त्यसबेला महर जातिलाई गाउँ सफा गर्ने, श्रम गर्ने जस्ता काम गर्न भनिएको थियो । गाउँका उच्च जातिहरूले उनीहरूलाई दासको रूपमा रातमा गाउँको पहरा दिन निर्देशन दिन्थे र पालना गर्न बाध्य बनाउथे । महरहरूले गाउँको कर्तव्यहरुको पालना गर्नु अनिवार्य थियो । बाली काट्ने दिनभरी मिहिनेत गरेपछि उनलाई ज्यालाको रूपमा ज्वार र थोरै मकै दिइन्थ्यो । जसका कारण उनले आफ्नो जीवन चलाउन सकिनन् । गाउँलेहरूले उनलाई अन्यायपूर्ण नियममा काम गराउने र त्यसबापत थोरै ज्याला वा वस्तुहरू दिन्थे ।
शान्ताबाई शिक्षित भएपनि उनलाई भाकरी(रोटी) माग्न घरघर जानुपर्थ्यो । शान्ताबाईले शिक्षक भएर सरकारी सेवा पाए पनि जातीय आधारमा हुने अपमान र अत्याचार कम हुन सकेन । उनी सन् १९४२ मा सोलापुर जिल्लाको कादल गाउँमा शिक्षक नियुक्त भइन् । गाउँका उच्च जातका मान्छेहरु उनलाई यहाँबाट फर्किनुस् भन्थे । अन्यथा उनलाई पनि पहिले आएका तल्लो जातका शिक्षकलाई जस्तै व्यवहार (कुटपिट)गरिने बताए । तर शान्ताबाईले साहसपूर्वक आफ्नो कर्तव्य पूरा गरिन् । सन् १९५९ मा शान्ताबाई र उनका श्रीमान् काम्बले मास्टरलाई दिघिन्चीमा सरुवा गरियो । त्यही गाउँमा शान्ताबाईले वयस्क शिक्षाको कक्षा सुरु गरिन् ।
शान्ताबाईले दलित भएकाले जीवनको हरेक चरणमा भेदभाव महसुस गरिन् । तीन कक्षा देखि शिक्षिकाको रूपमा काम गर्दा सम्मको यात्रामा उनले जातीय पहिचानका कारण अपमानको सामना गर्नुपरेको थियो । उनले अध्यापक बनेर समाजमा चेतना फैलाउने काम गरिन् । विवाह पछि उनी र उनको श्रीमान डा अम्बेडकरको सम्पर्कमा आए । त्यसपछि ती दम्पतीले बाबासाहबको पाइला पछ्याए र आफ्नो अधिकारका लागि पीडितहरूलाई चेतना फैलाउने काम गरे ।
उनी दलित आन्दोलनमा आवद्ध भइन् । सन् १९४२ मा उनले डा. अम्बेडकरलाई भेटिन् । डा. अम्बेडकरको भनाइ,“शिक्षालाई हतियार बनाउ” त्यसलाई वास्तविकतामा सफल बनाउन उनले धेरै काम गरिन् ।
कामको प्रशंसा
काम्बेल दम्पतीले बुद्धवाडा (नव–बौद्धहरूको आवासीय क्वार्टर)मा गरिबहरूलाई निःशुल्क पढ्न र लेख्न सिकाउन थाले । शिक्षामन्त्री जब त्यहाँ पुगे, उनी धेरै प्रभावित भए र उनीहरूको प्रयासलाई “काम्बले दम्पती” भनेर टिप्पणी गरे । यद्यपि, एक “उच्च जात”का गाउँका नेताले उनलाई सम्मान गर्न अस्वीकार गरे । शान्ताबाई र काम्बले मास्टरले इमान्दारिताका साथ आफ्नो कर्तव्य निर्वाह गरेका थिए । तर गाउँका तथाकथित उच्च जातिले दलित जातिको शिक्षकको लोकप्रियता सहन सकेनन् ।
काम्बले दम्पतीले शिक्षाको माध्यमबाट समाजमा चेतना फैलाइरहेका थिए । उनले डा. भिमराव अम्बेडकरको आन्दोलनमा सामेल भएर दलित वर्गको उत्थानमा योगदान पुर्याइरहेका थिए । अम्बेडकरवादी मानव मुक्ति आन्दोलनका कारण शान्ताबाईले भारतमा महिलाहरूलाई समान संवैधानिक अधिकार र शिक्षा पाउनु पर्छ भन्ने दिशामा काम गरिन् । उनले गाउँ–गाउँ गएर दलितलाई आफ्नो अधिकारका लागि सचेत गराइन् ।
उनले डा. अम्बेडकरलाई भेटिन् र विशेष गरी बालिका शिक्षामा जोड दिएकी थिइन् । ‘सामाजिक सुधार आन्दोलनको नेतृत्व यदि महिलाले गर्ने हो भने उसले दुई परिवारलाई प्रबुद्ध गर्न सक्छे’ भन्ने उनको विश्वास थियो ।
आत्मकथाको माध्यमबाट संघर्षको बयान
शिक्षिकाको हैसियतमा सेवानिवृत्त भएपछि शान्ताबाइले आफ्नो जीवनको संघर्षलाई पुस्तकको रूपमा लेख्न सुरु गरिन् । काम्बलेले आफ्नो जीवनको संघर्षलाई आफ्नो आत्मकथा ‘माज्या जन्माची चित्तरकथा’ नामको किताबमा लेखेकी छन् । यो पुस्तक १९८० मा प्रकाशित भएको थियो । उनको पुस्तक निकै लोकप्रिय भएको थियो । त्यस पुस्तकलाई धेरै ठाउँमा सार्वजनिक रूपमा वाचन गरिएको थियो ।
९० को दशकको प्रारम्भमा ‘नाजुका’ नामक धारावाहिक रूपमा टेलिभिजन दर्शकहरूका लागि प्रस्तुत गरियो । यो पुस्तक दलित महिला लेखिकाद्धारा लेखेको पहिलो आत्मकथा मानिन्छ । शान्ताबाईको आत्मकथाले दलितको पीडालाई उजागर गरेको छ । यो पुस्तक मुम्बई विश्वविद्यालयको पाठ्यक्रममा समावेश छ । पुस्तक पछि अंग्रेजी र फ्रान्सेलीमा पनि अनुवाद गरिएको थियो ।
आफ्नो पुस्तक आफ्ना आमाबुवालाई समर्पण गर्दै उनले लेखेकी छन्, “यो मेरो आई–आप्पा(आमा–बुवा)लाई हो जसले चर्को घाममा पानी नभनी दिनभर मिहिनेत गरे, मलाई शिक्षा दिए र मलाई अन्धकारबाट उज्यालो तर्फ ल्याए ।” त्यसैगरी शान्ताबाई काम्बलेले पनि आफ्नो लेखन र कार्यमार्फत दलित महिलालाई अन्धकारबाट उज्यालोमा ल्याउने काम गरिन् ।