आङ सान सुचीलाई थप ६ वर्षको कैद , जेल सजाय अवधि १७ वर्ष पुर्‍याइयो

diyopost.com
दियो पोस्ट  मंगलबार, साउन ३१, २०७९ | १२:०४:११

काठमाडौं । म्यानमारकी नेता आङ सान सुचीलाई त्यहाँको सरकारले थप ६ वर्षको कैद सजाय तोकेको छ । यसपटक उनलाई भ्रष्टाचार आरोपमा अदालतले दोषी ठहर गरेको हो ।

यससँगै अब सुचीको जेल अवधि १७ वर्ष पुगेको छ । सुचीले आफ्नो कार्यकालमा पदको दुरुपयोग गरेको र च्यारिटीको नाममा पैसा लिएर घर बनाएको भन्दै आरोप लागेको थियो । उनलाई यसअघि नै विभिन्न मुद्दामा ११ वर्षको कैद सजाय सुनाइएको थियो । सुचीले आफूमाथि लागेका सबै आरोपको अस्वीकार गर्दै आएकी छन् ।

७७ वर्षीया नेता सुचीमाथि अदालतले सेनाविरुद्ध हिंसा भड्काएको र कोरोना विरुद्धको नियम उल्लंघन गरेको लगायतका मुद्दामा दोषी ठहर गरेको थियो । म्यानमामा २०२१ को फेब्रुअरी १ मा सेनाले सत्ता कब्जा गरेपछि सुचीलाई पक्राउ गरी नजरबन्दमा राखिएको थियो ।

म्यानमारमा २०२० को आम निर्वाचनमा सुचीको पार्टी “नेसनल लिग फर डेमोक्रेटिक” ले वहुमत प्राप्त गरी सरकार बनाएको थियो । सुचीको पार्टीको जितसँगै सैन्य शासन अन्त्य भए पनि २०२१ मा फेरि सेनाले सत्ता कब्जा गरेको हो

यसबीचमा म्यानमारमा सैन्य सरकारको विरोधमा विशाल प्रदर्शन भएका छन् । जहाँ सुरक्षाकर्मीको दमनको क्रममा २ हजारभन्दा धेरै मानिस मारिएको बताइएको छ । साथै १७ हजार मानिस पक्राउ परिसकेका छन् ।

सम्बन्धित खबर