केही दृश्यहरु फरक हुन्छन् । आफूतर्फ तानि हाल्छन् । त्यस्तै एउटा दृश्य माइतीघरको बाटो हिँड्दै गर्दा देखें–“काखमा दूधे बालक र घाँटीमा प्लेकार्ड झुण्डाएर चर्को घाममा बसिरहेकी एक महिला ।” म उनी भए तर्फ नै लम्किएँ । उनको घाँटीमा झुण्डिएको प्लेकार्डमा लेखिएको थियो “सबै दलालहरुलाई गिरफ्तार गर्दै कानुन बमोजिम कारबाही गर ।” उनी बसिरहेको ठाँउमा पुगेपछि उनीसंग कुराकानी भयो ।
उनको नाम थियो ज्योती कुमार सिंह । घर सर्लाही चन्द्रनगर गाउँपालिका ६ ।
मिटर ब्याज पीडितहरुको निरन्तरको आन्दोलनले देशभरी प्रभाव पारेको देखिन्छ । सर्लाहीमा पनि मिटर ब्याज पीडितहरुको आन्दोलन बारे सूचना पुग्यो । ज्योती कुमार सिंहलाई पत्रकार राधेश्यामले काठमाडौंमा तपाईं जस्तै पीडितहरु धर्नामा छन् भन्ने जानकारी दिएपछि उनी पनि आइपुगिन् । उनी आफ्नै भाषा र लवजमा भन्छिन्,“हमे मालुम नहीं था कि पीडित सब लोग आन्दोलन कर रहे हैं । जब हमे एक पत्रकार ने बताया तब हमने सोचा हम भी चले ।”( पीडितहरु सबै आन्दोलनमा छन् भन्ने मलाई थाहा थिएन । मलाई एकजना पत्रकारले जानकारी गराए । त्यसपछि म पनि जानुपर्छ भन्ने सोचेर आएँ ।)
शोषण र पीडाले चरम सिमा नाघेपछि जस्तोसुकै परिस्थितिमा पनि न्यायको लागि सबथोक छाड्न बाध्य हुन्छ मान्छे । ज्योतीले मिटर ब्याजको कारण आफ्नो जग्गा गुमाउनुपर्यो । आफ्नो जग्गा गुमेपछि घरमा बिरामी श्रीमान र स–साना बालबच्चा छाडेर न्यायको आशामा उनी आइपुगिन् काठमाडौंको माइतीघर ।
जग्गा फिर्ता हुने आशाले उनी काखमा १ वर्ष ४ महिनाको छोरा संगै धर्नामा सहभागी भएकी छन् । उनी भन्छिन्,“साहु हमे धम्की देता–रहता । हमार जग्गा भी वो लोग ले गए । साहु ने हमार जग्गा अपनी पत्नी के नाम करदिया ।”( साहुले धम्की दिइरहन्छ । मेरो जग्गा पनि गयो । साहुले आफ्नो श्रीमतिको नाममा जग्गा गरिदएको छ ।)
ज्योतीले साहु नरेश चौधरीसँग ३ बर्ष अगाडि ३,००,००० रकम लिएकी थिइन् । उनले पटक–पटक गरी १,५०,००० रुपैयाँ भुक्तानी गरिसकेकी थिइन् । ऋण तिर्न खोज्दा पनि साहुले दबाब दिएर उनको जग्गा श्रीमतिको नाममा रजिनामा पास गरिदियो । र, उनलाई आफ्नो जग्गा अरुको नाममा भइसकेको कुरा पछि मात्रै थाहा भयो ।
ज्योतीले २४५ कित्ता नम्बरको ५ कठ्ठा ११ धुर जग्गा दृष्टिबन्धक गरेकी थिइन् । उनी भन्छिन्,“मैले साहुसंग लिएको रकम भन्दा बढीको कागज बनाएर जबरजस्ती साहुले छाप गर्न लगाए ।”
घरमा बिरामी श्रीमान र स–साना बालबच्चालाई छाडेर आउने मन थिएन् ज्योतीलाई । तर, आफ्नो भएको जग्गा जमीन सबै साहुले झुकाएर आफ्नो श्रीमतिको नाममा गराएपछि उनी आन्दोलनमा आउन बाध्य भईन् । उनी भन्छिन्,“घर मे हमारे पति बिमार है । छोटे–छोटे ४ बच्चे है । उनको छोडकर एकको लेकर आइ हुँ । धर्ना मे कबतक रह पाँएगे मालुम नहीं अगर घर जाना हो तो जाँएगे । लेकिन जबतक न्याय ना मिली तबतक शान्त नहीं रहेंगे ।” (घरमा श्रीमान बिरामी छन् । स–साना ४ बच्चा छन् । उनीहरुलाई छाडेर सानो बच्चालाई लिएर आएकी छु । धर्नामा कहिलेसम्म बस्छु थाहा छैन । यदि घर फर्कीनुपर्ने भयो भने फर्कीनुपर्छ । तर, जबसम्म न्याय मिल्दैन तबसम्म चुपचाप भने बस्दिन । )