काठमाडौं । कथावाचिका देवि प्रतिभालाई प्रश्न गरेको भन्दै एक पत्रकारमाथि पशुपतिस्थित कोटिहोम आयोजकहरुले निर्घात कुटपीट गरेका छन् । लोकतन्त्र टाइम्सका पत्रकार प्रिन्स मिश्र र उक्त अनलाइनका क्यामेरा पर्सन अखिल मिश्रमाथि निर्घात कुटपीट भएको हो ।
कुटपीटबाट घाइते दुवै पत्रकारको टाउकोमा गम्भिर चोट लागेको छ । घाइते पत्रकार प्रिन्स मिश्रका अनुसार शनिबार दिउँसो भारतबाट आएका कथावाचक श्रीकृष्ण अनिरुद्रको भिडियो खिच्न त्यहाँ पुगेका पत्रकारद्वयमाथि निर्घात कुटपीट भएको हो । अघिल्लो दिन देवी प्रतिभालाई उनले सोधेका थिए,‘प्रवचन सुन्दा हामी संसारमा केही लिएर आएका थिएनौँ केही लिएर जाँदैनौँ । तर तिनै भक्तजनबाट तमाम रकम उठाइन्छ । कतै कतै हामीले उहाँहरुको माइन्ड सेटमा दान दिनुपर्छ भन्ने सेट गरिदिन्छौँ । दान दिने कुरा भनेको गोप्य हुनुपर्छ । स्वमनबाट हुन्छ । तर, हामीले यहाँ तपाईंको मुखबाट सुन्यौँ म यहाँ केही लिन आएको होइन । पैसा चाहिएको छैन मलाई । तर, यहाँ लाखौँ करोडौँ रुपैयाँ उठाइएको छ । चार पाँच वटा त दान सचिवालय नै छ । अर्थमन्त्रालयको सचिवालय त देखेकै थियौँ । यहाँ त दर्जनौँ सचिवालय छ । खासमा भक्तजनहरुले आफ्नो स्वमनले दान दिने हो की तपाईंहरुले माइन्डसेट नै दान दिएपछि स्वर्गको द्वार खुल्छ भनेर बनाइदिने हो । एक जना महिलाले ५ हजार रुपैयाँ दान दिन आउनु भएको थियो । तर, पछि एक लाख रुपैयाँ दिएर जानु भयो भन्ने समाचार आएको छ । यसलाई हामीले कसरी हेर्ने ? यसले कतै हिन्दु धर्ममाथि नै प्रश्न त उठाउँदैन ?’
उनले यही प्रश्न गरेका कारण मिश्रमाथि पशुपति क्षेत्रमा निर्घात कुटपीट भएको हो ।
‘हिजो देवि प्रतिभालाई किन यस्तो प्रश्न गरिस भन्दै हामीमाथि हातपात शुरु भयो । कथित बाबा श्री विजय कृष्ण मुर्तिजी महाराजले खटाएका २५ जनाको समुहले हामीमाथि आक्रमण गरिरहे । प्रहरी र सुरक्षाकर्मी त त्यहाँ छैन,’ पत्रकार मिश्रले दियोपोस्टसँग भने,‘घटना घटेपछि पनि हामीले प्रहरीलाई जानकारी गरायौँ तर, प्रहरी त मुकदर्शक बनेको छ । कोटिहोम भित्र त्यस्तै आपराधिक हुलहुज्जत गर्ने समुह मात्रै छ । प्रहरीको त उपस्थिति समेत छैन । याे सम्पूर्ण पत्रकारमाथिकाे अाक्रमण हाे ।’
पत्रकार मिश्रले काठमाडौंको केएमसी अस्पतालमा उपचार गराइरहेको जनाएका छन् ।
समाचारकाे भिडियाे हेर्नकाे लागि तलकाे लिंकमा क्लिक गर्नुहाेस्