ब्रोड पिक हिमपहिरो अपडेट : निर्मल पुर्जासहित ७ आरोही अझै बेपत्ता

दियोपोस्ट संवाददाता

काठमाडौँ । विश्व प्रसिद्ध नेपाली आरोही ‘निम्स दाइ’ अर्थात् निर्मल पुर्जा नेतृत्वको १० सदस्यीय टोलीका सदस्यहरू हिमपहिरोमा पर्दा ७ जना अझै बेपत्ता छन् । तीन जनाको भने शव फेला परेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

१० सदस्यीय टोलीको नेतृत्व गरेर नेपाली आरोही निर्मल पुर्जा पाकिस्तानको ८०४७ मिटर अग्लो ब्रोड पिक हिमालको आरोहणमा गएका थिए । हिमाल चढ्ने क्रममा क्याम्प टु र क्याम्प थ्री को बिचमा रहेको करिब ६,६०० मिटरको उचाइमा अगाडि बढिरहेको अवस्थामा बिहीबार स्थानीय समय अनुसार मध्यान्ह १२ बजेतिर हिमपहिरो आएपछि टोलीका सबै सदस्य बेपत्ता भएका थिए ।

हिमपहिरोमा परी आरोहण दलका सदस्यहरू बेपत्ता भएपछि पाकिस्तानी सेना लगायतको टोलीले खोजी तथा उद्धार कार्य गर्दा तीन शव फेला परेको छ, जसमा एक नेपाली र ओमानी नागरिकको शवको पहिचान भइसकेको छ ।

जिपिएस डाटाले देखायो एक किलोमिटर तल पुराएको संकेत

बेपत्ता भएकाहरूमा टोलीका प्रमुख पुर्जासहितका अन्य सदस्यहरू हालसम्म पनि सम्पर्कमा आएका छैनन् । पुर्जा लगायत अन्य सदस्यहरूको जिपिएस ट्रयाकिङमा मुभमेन्ट देखिएको भए पनि हिमपहिरो अत्यधिक ठुलो रहेको र एक किलोमिटर तलसम्म हिमपहिरो पुगेको पाइएको छ । जिपिएस डाटा एनालाइसिसमा हिम पहिरोले केही समयमै जिपिएस ट्रयाकिङ १,००० मिटर तल पुगेको देखाइएको छ, जुन दौडेको वा भागेको भन्दा फरक दृश्य हुन सक्ने संकेत गरेको छ ।

पाकिस्तान एल्पाइन क्लब (एसीपी) का अनुसार हिम पहिरोको समयमा पुर्जाको टोली क्याम्प २ र क्याम्प ३ को बिचमा करिब ६,६०० मिटरको उचाइमा पुगेको थियो । हिम पहिरोपछि टोलीका कुनै सदस्यसँग पनि सम्पर्क हुन सकेको छैन ।
सुरुमा एसीपीले घटनामा दुई जनाको मृत्यु भएको र एउटा अंगको टुक्रा फेला परेको जानकारी दिएको थियो । पछि गिल्गिट-बाल्टिस्तानका अधिकारीहरूले चार वटा शव फेला पारिएको पुष्टि गरेका छन् । चार मध्ये पहिचान खुलेका तीन शवमा नेपाली आरोपी पहिचान खुलेका दुई शवमध्ये नेपाली आरोही पुर बहादुर गुरुङ (युक्त), ओमानकी आरोही नाधिरा अहमद अब्दुल्ला अल हर्थी र अमेरिकी आरोही म्यालोरी गिस रहेको खुलेको छ । अर्को एक शवको अझै पहिचान खुलेको छैन ।

खोजी तथा उद्धार कार्य अझै जारी

दुर्घटनापछि पाकिस्तान सरकार, स्थानीय प्रशासन र एल्पाइन क्लबले व्यापक खोजी अभियान जारी राखेका छन् । शुक्रबार साँझ अबेरसम्म खोजी जारी राखेका उनीहरूले शनिवार बिहानैदेखि पुनः खोजी कार्य सुरु गरेका छन् ।

पाकिस्तानी सेनाले उद्धारकर्मी र विशेष उपकरणसहित दुई वटा हेलिकप्टर परिचालन गरेको छ । त्यस्तै ड्रोन र स्थलगत खोजी टोली पनि परिचालन गरिएको छ । तर अहिले मौसम बिग्रिएको र करिब ६,६०० मिटरको उचाइमा दुर्घटना भएको कारण खोजी कार्य थप जटिल बन्दै गएको बताइएको छ ।

एसीपीले सुरुमा दुई जना आरोहीको जिपिएस ट्रयाकरमा मुभमेन्ट देखिएको जनाएको थियो । त्यसले केही समय आशा जगाए पनि उद्धारकर्मीको टोलीले हेलिकप्टरबाट उक्त स्थानको अवलोकन गर्दा केही नदेखिएको तथा पछि एउटा ट्रयाकर भाँचिएको अवस्थामा फेला परेकोले त्यो प्राविधिक त्रुटि अर्थात् ग्लिच मात्र हुनसक्ने बताएका छन् ।

पाकिस्तान एल्पाइन क्लबकी सञ्चार प्रमुख नैला कियानीले दुर्घटना भएको २४ घण्टाभन्दा बढी समय बितिसकेको र अत्यन्तै कठिन हिमाली अवस्थामा बाँच्ने सम्भावना ‘अत्यन्तै न्यून’ रहेको बताएकी छिन् । यद्यपि ‘चमत्कार पनि हुन सक्ने’ भन्दै आस मार्न नसकिने बताएकी थिइन् ।

हिमपहिरोमा परेको टोलीमा ६ नेपाली रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । निम्स दाइ बेलायती नागरिकका रूपमा हिमाल आरोहणमा गएकाले ५ नेपालीहरूमा पुरबहादुर गुरुङ (युक्त), किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा रहेका छन् ।

अन्य सदस्यहरूमा पाकिस्तानी गाइड सोहैल साखी, ओमानी आरोही नाधिरा, अमेरिकी आरोही म्यालोरी गिस, चिनियाँ आरोही वाङ रहेका छन् ।

सम्बन्धित खबर