दैलेख छुवाछुत प्रकरणः पीडकसंग मिल्न वडाध्यक्षको दवाब, प्रहरीसंगको वयान सुधार्न नेकपा नेताको धम्की !

दियो पोस्ट  

दियोपोस्ट संवाददाता

काठमाडौँ, साउन १७ । गत बैशाख ११ गते दैलेख नारायण नगरपालिका, वडा नं.१० भवानीकी ३५ वर्षीया लछिमा सुनारलाई पानीको गाग्रो छोएको निहुँमा स्थानीय राजकुमारी न्यौपानेले ‘मेरो गाग्रो किन छोइस्, तँ कमिनीलाई मार्छु’ भन्दै धारिलो हसियाँ प्रहार गरि निर्घात कुटपिट गरिन् । कुटपीटबाट लछिमा सुनारको टाउकोमा गहिरो चोट लाग्यो । उनी धारामै ढलिन् । स्थानीयको सहयोगमा उनलाई अस्पताल पुर्याइयो ।

भोलिपल्ट बैशाख १२ गते घाइते अवस्थामै प्रहरी चौकी पुगेकी सुनारले आफुमाथि जातीय बिभेद र कुटपीट भएको भन्दै उजुरी दिइन् । तर, सोही वडाका वडा अध्यक्ष लोक बहादुर थापा र नेकपाका नेता लोमन शर्माले जातीय बिभेदको मुद्धा दर्ता नगराउन पीडितलाई दवाव दिए । उनीहरुको दवावका बावजुद, जिल्ला स्थित दलित प्रतिनिधि र प्रहरीको सहयोगमा वैशाख १२ गते मुद्धा दर्ता भए पनि अहिलेसम्म आफुले न्याय नपाएको पीडितको गुनासो छ ।

“सानो जातको भनेर म माथि कुटपीट भएको चार महिना बितिसक्यो तर, मैले न त न्याय पाएँ, न औषधी उपचार खर्च पाएँ, हामी गरिवलाई कसले न्याय देला?” न्याय पाउने आशामा सदरमुकाम पुगेकी सुनारले पीडा ब्यक्त गरिन् ।

आफैले भोट हालेर जिताएका जन–प्रतिनिधिलाई न्यायका लागि गुहार्न पुगेकी सुनारलाई वडा अध्यक्ष थापा र नेकपाका नेता शर्माले पीडकसंग मिल्नका लागि दवाव दिएको पीडित सुनारले दियोपोष्टसंग बताइन् । बैसाख १२ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा निबेदन दिन जाँदा पनि वडा अध्यक्ष थापाले उजुरी नदिन दवाव दिएका थिए । उनले भनिन्, “मेरो अन्टी बिष्णु सुनारले उजुरी दिनका लागि निवेदन तयार पार्नु भएको थियो तर, वडा अध्यक्षले ‘उजुरी नदेउ’ भन्दै उहाँको हातबाट कागज खोस्नु भयो ।” यद्यपी, वडा अध्यक्ष थापाले यो घटना जातीय बिभेद तथा छुवाछुतसंग सम्वन्धीत नभएको बताउँदै आएका छन् ।

वडाध्यक्ष लोक बहादुर थापा

लछिमामाथिको कुटपीट जातीय विभेद तथा छुवाछुसंग सम्वन्धित नभएको बताउँदै उनि भन्छन्, “लछिमाको बाख्राले राजकुमारीको बारीको गहुँ खाइदिए पछि झगडा सुरु भएका हो, त्यही रिसले राजकुमारीले आक्रमण गरेकी हुन् तर यो घटनालाई तोडमोड गरेर जातीय बिभेद र छुवाछुत सम्बन्धीको मुद्धा बनाइयो” उनले भने, “जातीय बिभेद बिरुद्धको मुद्धा दर्ता नगर्नका लागि मैले पीडितलाई आग्रह गरेको हुँ तर, उनीहरुले अटेर गरेर त्यस्तै खालको मुद्धा दर्ता गराएछन् ।” तर, प्रहरीको सहयोगमा पीडितले जातीय बिभेद र छुवाछुत सम्वन्धी मुद्धा दर्ता भएकोे उनले जानकारी दिए ।

मुद्धा रोक्न नसकेपछि वडा अध्यक्ष थापा र नेकपाका जिल्ला नेता लोमन शर्माले यही साउन १४ गते आफुलाई भेटेर ‘विभेद भएको होइन, बाख्राको निहुँमा हामी दुई बीच झगडा भएको हो, भनेर प्रहरीसंगको वयान सुधार’ भन्दै धम्की दिएको पीडित सुनारले गुनासो गरिन् । यो घटना हुनु पहिले पनि नीज राजकुमारी न्यौपानेले लछिमालाई दुई पटक कुटपीट गरेको पीडितकी आमा पबित्रा सुनारले जानकारी दिइन् । त्यतीबेला पनि छोरीले “मैले कुटाइ खाँए आमा” भन्दै रुँदै माइत आएकी थिइ” पीडितकी आमाले विगत सम्झिइन् ।

लोमन शर्मा, नेकपा दैलेखका नेता

“छोरीको छिमेकीसंगको घटना भनेर म केही बोलिन, तेस्रो पटक पनि आक्रमण भएर छोरीलाइ अस्पतामा भर्ना गरे पछि मात्र मैले घटनाका बारेमा थाहा पाएकी थिए, पहिले पनि पानी भर्ने बेला कुटाई खाएकी थिइ ।” उनले आफ्नी छोरी माथि पटक पटक आक्रमण हुने गरेको बताइन् । तेस्रो पटक पनि मार्ने नियतका साथ छोरीमाथि आक्रमण भएको उनको दावि छ ।

“हाम्रो बोलिदिने मान्छे नभएर पनि हामीले न्याए पाएका छैनौ, हामी गरिव मान्छे, सानो जातलाई कसले हेर्छ र? मेरो ज्वाँई पनि सोझो हुनु हुन्छ, ठाउँमा गएर बोल्न सक्नु हुन्न ।” आमा पबित्रा सुनारले दुखेसो ब्यक्त गरिन् ।

पीडित लछिमा सुनार

घटना लगत्तै फरार रहेकी पीडक राजकुमारी न्यौपाने अहिले सम्म सम्पर्कमा आएकी छैनन् । उनकोे खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यलय दैलेखका प्रहरी नायव उपरिक्षक ठाकुर प्रसाद पोखरेलले जानकारी दिए । उनले भने, “घटनालगत्तै तुुरुन्तै खबर भएको भए अपराधी पक्राउ पथ्र्यो तर पनि हाम्रो प्रयास जारी छ ।”

घटना अनुसन्धानकै क्रममा भए पनि केही दिन अघि घटना मिलाउने बिषयमा नेता, जनप्रतिनिधि र पीडितबीच छलफल भएको प्रति आफ्नो ध्यानाकर्षण भएको उपरिक्षक पोखरेलले बताए । उनले भने, “मुद्धा दर्ता भए पछि घटनालाई गाउँमै मिलाउने कुरा हुँदैन, पीडकलाई प्रचलित कानुन बमोजिम कारवाही हुनु पर्छ ।” आरोपी राजकुमारी न्यौपानेका श्रीमान भारतमा रहने भएकाले उनी पनि भारत तिरै छिन् भन्ने खवर आएको र आफुले गोप्य रुपमा मान्छे खटाइरहेको नायव उपरिक्षक पोखरेलले बताए । पीडकलाई पक्राउ गरेर कारवाहीको दायरामा ल्याउन तथा विपन्न र अन्यायमा परेकाहरुको न्यायका निमित्त दैलेख प्रहरी सधै प्रतिवद्ध रहेको उनले जानकारी दिए ।

घटनालाई कुनै पनि हालतमा मिलापत्रमा टुङ्ग्याउन नहुने भन्दै जिल्लाका पत्रकार तथा दलित अभियन्ता अमर सुनारले पीडितलाई न्याय दिलाउन राज्य स्तरबाटै पहल गरिनु पर्ने बताए । उनले घटनाका बारेमा प्रस्ट्याउँदै भने, “प्लास्टिकको गाग्रो समेत कटिएको छ, लछिमाकाे टाउकाे फुटेकाे छ, उनि पानी छोइएको निहुँमा उनी कुटिएकी हुन् तर जिल्लाकै नेता तथा वडाध्यक्षले अपराधीलाई बचाउन खोजिराखेका छन् ।”

स्थानिय पत्रकार तथा अभियन्ता अमर सुनार

लछिमा गंभिर घाइते भएर रक्ताम्य अवस्थामा धारामा ढलेको र एम्बुलेन्स माग गर्दा समेत लोमन शर्मा अस्पतालकै मान्छे भएर पनि एम्बुलेन्स पठाउन नमानेको पत्रकार सुनारकाे आरोप छ । उनले पीडितले न्याय नपाएसम्म आफुहरु चुप नबस्ने बताए ।

यता, घटनालाई मिलापत्रमा टुङ्गयाउन खोजिएको र आफुले सहयोग नगरेको भनने आरोप झुटो भएको भन्दै नेता शर्माले भने, ‘कुटपटिको घटना भएकै हो, हामी पीडितको पक्षमा छौँ, कुट्ने मान्छे फरार छन् । पीडितले न्याय र पीडकले दण्ड पाउनु पर्छ भन्ने पक्षमा छौँ ।”

तर, प्रहरीमा वयान वदल्न लगाउने वडाध्यक्ष थापा र नेकपाका नेता शर्माको हरकतका कारण आफुहरुले न्याय नपाउने भन्दै पीडितले शंका ब्यक्त गरे ।

सम्वन्धित समाचार

गाग्रो छोएको निहुँमा मरणासन्न हुनेगरि कुटपिट, अपराधी जोगाउन आर्थिक प्रलोभन

गाग्रो छोएको निहुँमा कुटपीट प्रकरणः चलखेल गरेर अपराधी बचाउनतर्फ नलाग्न जनप्रतिनिधिलाई सांसदको चेतावनी