काठमाडौं, १८ साउन । धापासीमा रहेको ग्रान्डी इन्टरनेश्नल अस्पतालका उच्च अधिकारी आफू विरुद्ध परेको मुद्दा मिलाउन लभिइङमा लागेको खुलाशा भएको छ ।
गत जेठ ८ गते सुचना प्रविधि क्षेत्रका विज्ञ सञ्जिव न्यौपानेले अस्पतालले आफ्नो नवजात शिशुको उपचारमा लापरबाही गरेको तथ्य र प्रमाण सहित नियामक निकाय मेडिकल काउन्सिलमा उजुरी दिएका थिए ।
सञ्जिव र एकता घिमिरेको कोखबाट जन्मिएका नवजात शिशुलाई उपचारको नाममा ५ पटकसम्म अपरेशन गरी आवश्यकता भन्दा बढी सिटामोल लगायत औषधी दिएको खुलाशा भएको थियो ।
उजुरी दिएको २ महिना वितिसक्दा पनि ग्रान्डी माथि काउन्सिलले कारबाही नगर्नुले चौतर्फी शंका उब्जाएको छ ।
स्रोतका अनुसार उजुरी परेको झन्डै २ महिनापछि साउन ३ गते पीडित सञ्जिव न्यौपानेको बयान लिएको थियो । उनको बयान लिएको २ दिनपछि साउन ५ गते ग्राण्डीका उच्च अधिकारी, सम्बन्धित डाक्टरसँग बयान लिएको थियो ।
नेपाल मेडिकल काउन्सिलले बनाएको छानबिन समितिले ग्रान्डी अस्पतालले गल्ती गरेको प्रतिवेदन सहित कारबाही गर्ने तयारी थालेपछि ग्राण्डी अस्पतालका उच्च अधिकारी काउन्सिललाई रोक्न लागि परेको छ ।
उनीहरुले विभिन्न शक्ति केन्द् मार्फत नेपाल मेडिकल काउन्सिलका पदाधिकारी र छानबीन समितिका सदस्यलाई दबाव दिन थालेका छन् ।
ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र अध्यक्ष माफिया व्यापारी दीपक कुँवरले विभिन्न शक्ति केन्द्र मार्फत काउन्सिलको स्वतन्त्र निर्णयमा दबाव दिन लगाएका छन् ।
उपचारमा समलंन डा. अमित थापाले आफ्नो गल्ती सार्वजनिक रुपमा स्विकार गर्दा पनि काउन्सिलले भने कारबाही गर्न सकिरहेको छैन । डा. थापाले आफूले नावालक शिशुलाई आवश्यकताभन्दा बढी सिटामेल दिएको स्विकार गरिसकेका छन् ।
सञ्चार माध्यमलाई समाचारको क्लास !
ग्राण्डी अस्पतालले उपचारमा लापरबाही भएको समाचार प्रकाशन गर्ने सञ्चार माध्यमलाई नै समाचार लेख्न सिकाउने आशयले विज्ञप्ति निकालेको छ । गत साउन ३ गते प्रकाशित विज्ञप्ति कुनै सञ्चार माध्यममा नभएपनि ग्राण्डीको वेभसाइटमा भने ‘स्किप एड’को रुपमा राखिएको छ । उक्त विज्ञप्तिमा सञ्चार माध्यमले लेखेको समाचार प्रति टिप्पणी गरिएको छ ।
यो पनि पढ्नुहोस्
उपचारको नाममा ग्रान्डी अस्पतालको ‘कालोधन्दा’ : नवजात शिशुको ५ पटक अपरेशन ! (उजुरीसहित)