आयल निगमको गाडीमा उद्योग मन्त्री भट्टको रजाइँ : मन्त्रीको चाकडीमा पौडेलले दिए ५ वटा गाडी !

दियो पोस्ट  

काठमाडौं, २७ साउन । नेपाल आयल निगमका कार्यकारी निदेर्शक सुरेन्द्र पौडेलले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र आपूर्ति सचिव बैकुण्ठ अर्यालको चाप्लुसी गर्न करोडौंको गाडी दिएको पाइएको छ ।


निगमले विभिन्न आर्थिक वर्षमा खरिद गरेका करोडौँका महँगा गाडीहरु मन्त्री भट्ट र उनका पिएहरुलाई समेत उपलब्ध गराएको पाइएको हो ।


उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतका अनुसार नेपाल आयल निगमले उपलब्ध गराएको बा १ ञ ३०९१ नम्बरको टोयोटा र्याभ फोर गाडी मन्त्री भट्टले चढिरहेका छन् । निगमले नै मन्त्री भट्टलाई ईन्धन समेत उपलब्ध गराउँदै आएको छ । यो गाडीलाई भट्टले नम्बर परिवर्तन गरि बा २ झ ३०९१ बनाएका छन् ।

यो गाडीलाई मन्त्रीको नम्बरप्लेट हाली मन्त्रालयमा स्ट्यान्डबाई राखिने गरेको छ । जापान स्थित टोयोटा कम्पनिले उत्पादन गरेको यो गाडीको मुल्य एक करोड २५ लाख पर्ने गर्छ ।
त्यस्तै बा १ ञ ३५३६ नम्बरको टाटा स्टोर्म गाडी भने मन्त्री भट्टका पिए लगायत आफन्त र नातागोताले दुरुपयोग गर्दै आएका छन् ।

बा १ ञ १८४८ नम्बरको सभरलेट गाडी पनि मन्त्री भट्टकै सचिवालयले प्रयोग गर्ने गरेको स्रोत बताउँछ । यसअघि निगमले कार्यालय प्रयोजनका लागि प्रयोग गर्दै आएको बा १ ञ २४०५ नम्बरको रेनल्ड क्वीड नामक गाडी पनि मन्त्रालय तिरै लागिएको छ । केही महिनाअघि मात्रै खरिद गरिएको यो गाडीलाई पनि मन्त्रालयमै भट्टका आसेपासे ओसार पोसारका लागि प्रयोग गरिँदै आएको छ ।
बा १ ञ २१३७ र २१३५ नम्बरको टाटा स्टोर्म गाडी पनि मन्त्रालयकै अधिकारीहरुले प्रयोग गर्दै आएका छन् । यी गाडीहरुमा लाग्ने चालक र इन्धन समेत निगमबाटै उपलब्ध गराउँदै आएको स्रोतले जनाएको छ ।


नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्यायले आफूलाई मन्त्री भट्टलाई निगमले उपलब्ध गराएको गाडीको विषयमा जानकारी नभएको बताए ।

सवारी साधनको नामममा कर्मचारीहरुले ब्रम्हलुट मच्चाउन थालेपछि खर्च न्युनिकरणका लागि भन्दै सरकारले २०७२ सालमा २०७२ सालमा सवारी साधन (सञ्चालन तथा मर्मत) सम्बन्धी निर्देशिका जारी गरेको थियो ।

नेपाल सरकारले आफैं सवारीसाधन चलाउन चाहने राजपत्राङ्कित विशिष्ट तथा प्रथम श्रेणीका पदाधिकारीलाई सवारीसाधनसहित इन्धन, मर्मत र सवारीचालक खर्च एकमुष्ट उपलब्ध गराउँदै आएका थियो ।

तर, आयल निगमका कार्यकारी निर्देशक पौडेलले भने मन्त्री भट्ट र सचिव अर्याललाई खुसी पार्न निगमको करोडौंको गाडी, मर्मत खर्च र निशुल्क इन्धन समेत उपलब्ध गराउँदै आएका छन् ।


यसअघि नेपाल आयल निगमका कार्यकारी निर्देशक रहेका गोपाल बहादुर खड्काले पनि मन्त्री र सचिवलाई आफ्नो काबुमा राख्न गाडीदेखि विभिन्न वस्तु दिएर मोलाहिजामा पार्दै आएका थिए । खड्काले आफ्ना भ्रष्टाचारको छानबीन नहोस् भन्नका लागि तत्कालिन अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई समेत हातमा लिएका थिए । सोही कारण पनि उनीमाथिको छानबीन रोकिएको थियो ।

हाल निगमका कार्यकारी निर्देशक पौडेलले पनि खड्काकै बाटो अबलम्बन गरेको निगमकै अधिकारीहरु बताउँछन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीदेखि अख्तियार प्रमुखलाई समेत सेटिङ मिलाएर निगममा चरम अनियमितता गरेको आरोप लाग्न थालेको छ । निगम मार्फत भएको रिफ्युलर खरिद र इआरपी जडानमा समेत व्यापक अनियमितता भएको स्रोत बताउँछ ।


आफै ग्याँस व्यापारी समेत रहेका उद्योग मन्त्री लेखराज भट्टको स्वार्थलाई फाइदा पुर्याउन कार्यकारी निर्देशक पौड्यालले निगमकै विनियमावलीको धज्जी उडाएको स्रोत बताउँछ ।