दियोपोस्ट संवाददाता
धादिङ, २८ साउन । धादिङवेशीस्थित पुछारबजारमा रहेको भैरवी आयल स्टोरले पेट्रोल तथा डिजलमा चरम ठगी गर्ने गरेको पाइएको छ ।
व्यापारी टंक कुमार श्रेष्ठद्वारा सञ्चालित उक्त पम्पमा एक ग्राहक ठगिएको भन्दै सामाजिक सञ्जालमै प्रश्न उठाइएको छ ।
ती ग्राहकले पुछारबजारमै ५ लिटर जाने जर्किन किनेर पेट्रोल पम्पमा पुगेका थिए । उनले प्रति लिटर एक सय २८ रुपैयाँ ८६ पैसा तिरेर ५ लिटर पेट्रोल खरिद गरेका थिए ।
तर, ६ सय ५० रुपैयाँ तिरेर ५ लिटर पेट्रोल खरिद गर्दा ५ लिटरको जर्किनमा भने आधा मात्रै भरिएको तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
जिल्ला सदरमुकाममा रहेको एक मात्रै पेट्रोल पम्पले वर्षौंदेखि ग्राहकलाई ठगी गर्दै आएको छ ।
महानगरिय प्रहरी अपराध महासाखामा तत्कालिन प्रमुख एसएसपी (पछि आइजीपीपि) सर्वेन्द्र खनालले गरेको अपरेशनका क्रममा श्रेष्ठ पक्राउ समेत परेका थिए ।
तर, प्रहरीकै उच्च अधिकारीलाई लाखौँ बुझाएर उनी छुटेको चर्चा हुने गर्दछ ।
उनले नक्कली मेसिन राखेर ठगी गरेको खुलाशा भएको थियो ।
उनले दिन दहाडै ठगी गर्दै आएपनि जिल्लास्थित प्रशासन कार्यालय मौन छ । उनीमाथि छानबीन र कारबाही गर्दा राजनीतिक दबाव आउने भएकाले प्रशासन र प्रहरी समेत चुपचाप बसेको स्रोतले बतायो ।
स्रोतका अनुसार पुछारबजारमा पम्प चलाएर ठगी गर्दै आएका श्रेष्ठ भने यतिबेला नेपालमा छैनन् ।
उनले अमेरिकामै बसेर धादिङवेशीमा दैनिक लाखौँ ठगी गर्दै आएको आरोप छ ।
जिल्लामा सिन्डिकेटकै रुपमा एउटा मात्रै पम्पले रजाइँ गर्दा समेत नियामक निकाय आयल निगम मौन छ ।
स्रोतका अनुसार उक्त पम्पले पम्प सञ्चालन सम्बन्धी मापदण्डलाई समेत उलंघन गरिरहेको छ ।