काठमाडौं, ३२ साउन । केपी ओली सरकारले आफ्ना आफन्त र नातागोतालाई नियुक्तीदेखि राज्यको सम्पत्ति समेत तातागोताको जालोलाई सुम्पिएर बद्नामी कमाएको थियो ।
सर्वोच्चको आदेशपछि बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि ओली सरकारकै विकृतिलाई निरन्तरता दिएको छ । देउवाको सचिवालयमा बस्न उनकै आफन्तको लडाई छ । स्रोतका अनुसार भतिज र श्रीमती आरजु राणाको आफन्तको लडाई छ ।
देउवा सरकारका अर्थमन्त्री जनार्दन शर्माले भने आकर्षक तलबमान हुने ठाउँमा आफ्नै भाञ्जी ज्वाईँलाई नियुक्त दिएको पाइएको छ । अर्थमन्त्री शर्माले एशियाली विकास बैंकको सल्लाहाकारमा आफ्नी भाञ्जी ज्वाई नाता पर्ने भीमकान्त न्यौपानेलाई नियुक्त गरेका छन् ।
शाखा अधिकृत पदमा कार्यरत आफ्ना भान्जी ज्वाईं न्यौपानेलाई मासिक १८ लाख रुपैयाँ तलब आउने आकर्षक स्थानमा नियुक्ती दिलाएपछि माओवादी केन्द्रमा समेत कुरा उठ्न थालेको छ ।
शर्माले नियुक्त गर्नु १५ दिनअघि केपी ओली सरकारले भने रमेश अर्याललाई नियुक्त गरेको थियो । अर्याल भने तत्कालिन अर्थमन्त्री विष्णु पौडेलका निजि सचिव थिए ।
२ वर्षसम्म मासिक १८ लाख तलब खान पाउने उक्त नियुक्ती निकै आकर्षक मानिन्छ ।
त्यसो त न्यौपाने बद्नाम कर्मचारी थिए । उनी यसअघि विभिन्न आकर्षक र मालदार निकाय ‘राजश्व’ मा बसेका व्यक्ति हुन् ।
हालै अर्थमन्त्रालयको सचिवबाट सरुवा भएका शिशिर कुमार ढुंगाना लामो समय राजश्व अनुसन्धान विभाग देखि महत्वपूर्ण निकायमा थिए ।
उनै ढुंगानाको पिएको रुपमा कार्यरत न्यौपानेले राजश्वमा रहँदा अकुत सम्पत्ती आर्जन गरेको आरोप छ।