काठमाडौँ- नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएका छन् । उनले व्यक्तिगत कारण देखाउँदै नेपाल क्रिकेट संघ (क्यान) लाई शुक्रबार इमेलमा आफ्नो राजीनामा पठाएका क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पुष्टि गरेका छन् ।
प्रशिक्षक ह्वाटमोरले कोरोनाका कारण परिवारसँग टाढा रहनुपर्दा व्यक्तिगत समस्या आएको बताउँदै राजीनामापत्र लेखेको चन्दले बताए । ‘हामीले प्रशिक्षकको राजीनामा इमेलबाट पाएका छौं । उहाँले कोरोनाका कारण परिवारबाट टाढा रहनुपरेकोमा कठिनाई भएको बताउनुभएको छ,’ अध्यक्ष चन्दले भने, ‘काम गर्ने इच्छा हुँदाहुँदै पनि पद छोड्नुपरेको अवस्था उहाँले लेख्नुभएको छ । यसबारे हामीले अहिले केहि निर्णय गरेका छैनौं ।’
चन्दले ओमान भ्रमणपछि प्रशिक्षकले पद छाड्ने जानकारी दिएको बताएका छन् । नेपाली टोली सेप्टेम्बर २० सम्म ओमन भ्रमणमा छ । जहाँ नेपालले आईसीसी विश्व क्रिकेट लिग टू मा अमेरिका र ओमनसँग त्रिदेशीय क्रिकेट खेल्नेछ । त्यसअघि पपुवा न्यूगिनीसँग दुईवटा एकदिवसीय खेल खेल्ने तालिका छ ।
ह्वाटमोर ८ महिना (गत जनवरीमा) अघि मात्र नेपाल आएका थिए । अष्ट्रेलियाका ह्वाटमोर विश्वकप विजेता प्रशिक्षक हुन् । उनको प्रशिक्षणमा श्रीलंकाले एकदिवसीय विश्वकप जितेको थियो ।