राजनीतिक र क्रिकेटका एक अर्काका कट्टर दुष्मन देश भारत र पाकिस्तान आज एसिया कपमा आमनेसामने हुँदैछन् ।
प्रतियोगितामा दुवै दाबेदार टिमसमेत भएकोले प्रतिस्पर्धा रोमाञ्चक हुने अनुमान छ । भारतको कप्तानी रोहित शर्मा र पाकिस्तानको कप्तानी बाबर आजमले गर्नेछन् ।
प्रतियोगिता अन्तर्गत समूह ए अन्तर्गत नेपाली समय अनुसार दिउसो सवा तीन बजे दुई देश भिड्न लागेका हुन् ।
एकदिवसीय वरियतामा पहिलो स्थानमा रहेको पाकिस्तानले पहिलो खेलमा नेपाललाई २३८ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
वरियतामा तेस्रो स्थानमा रहेको भारतले भने प्रतियोगितामा पहिलो खेल खेल्न लागेको हो ।
एक अर्काविरुद्ध सर्धैं तनाव झेल्दै आएकोले प्रतियोगितामा एक अर्काविरुद्ध भिड्दा पनि दुवै देशले ज्यादा महत्व दिने गरेका छन् ।
दुई देशबीचको विवादले गर्दा २०१३ यता दुवैबीच कुनै सिरिज हुन सकेको छैन । यसैले विश्वकप र एसियाकपमा कहिलेकाँही हुने प्रतियोगितामा कट्टर प्रतिस्पर्धी आमनेसामने हुँदा क्रिकेटका समर्थक पक्ष र विपक्षमा बहस गर्छन् ।
यसैले आजको खेल पनि निक्कै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अनुमान गरिएको छ । एक अर्का विरुद्धको तनावको असर खेलमा समेत देखिने हुँदा यी दुई देशबीचको प्रतिस्पर्धालाई विश्वभरबाट प्राथमिकतासाथ हेरिने गरिन्छ ।
हेडटु हेडमा को अगाडि
भारत र पाकिस्तानबीच अहिलेसम्म एसिया कपमा १३ भिडन्त भएका छन् । जसमा भारतले ७ र पाकिस्तानले ५ जित हात पारेका छन् । तर यी दुई टिमबीचको जम्मा हेड टु हेडमा भने पाकिस्तान अगाडि देखिएको छ ।
अहिलेसम्म खेलिएका १३२ म्याचमा पाकिस्तानले ७३ र भारतले ५५ म्याच जितेका छन् । ४ खेलमा नतिजा आएको छैन ।
पाकिस्तानले होम १४, अवे १९ र न्युट्रल भेन्युमा ४० म्याच जितेको छ ।
भारतले भने होम र अवेमा ११/११ म्याच जित्दा न्युट्रल भेन्युमा ३३ म्याच जितेको छ ।
यो प्रतियोगिता नै पाकिस्तानमा हुनुपर्ने थियो । तर यी दुई देशबीचको दुष्मनीले गर्दा यो खेल श्रीलंकामा हुन लागेको हो । उद्घाटन खेल भने नेपालले पाकिस्तानसँग उसकै मुल्तान मैदानमा खेलेको थियो ।
यस अघि २०२२ अक्टोबर २३ मा भारत र पाकिस्तानबीच टी–२० विश्वकपको सुपर १२ प्रतिस्पर्धा भएको थियो । जसमा भारतले अन्तिम बलमा १६० रन बनाउँदै जित हासिल गरेको थियो ।
एकदिवसीयमा भने २०१९ को विश्वकपमा दुई देश भिडेका थिए । जसमा भारत डिएलस मेथडमा ८९ रनले विजयी भएको थियो ।
पहिले ब्याटिङ गरेर भारतले ५ विकेट क्षतिमा ३६० रनको विशाल योगफल बनाएको थियो । तर वर्षाले खेल रोक्दा पाकिस्तानले ४० ओभरमा ६ विकेट गुमाएर २१२ रन मात्रै जोड्दा पराजित हुन पुग्यो ।
प्रतियोगिताको सुपर फोरमा पनि भारत नै हाबी भएको थियो । पाकिस्तानले दिएको २२९ रनको लक्ष्य भारतले १ विकेट क्षतिमा पूरा गर्दै फराकिलो जित हात पारेको थियो । यसैले यसपटक पाकिस्तान भारतसँग बदला लिने तयारीमा छ ।
भारत र पाकितास्तनको सम्भावित टिम यस्तो छ
मुख्य गरी भारतको ब्याटिङ र पाकिस्तानको बलिङ मुख्य हतियार मानिन्छ । तर पछिल्ला केही वर्ष पाकिस्तानका बाबर आजमले तहल्का नै मच्याउँदे आएका छन् । उनी र रिजवनले लामो साझेदारी गर्दा रनको पहाड नै बनाउने सामथ्र्य राख्छन् ।
पछिल्लो वरियतामा एकदिवसीयको नम्बर वान टिम रहेकोले पनि पाकिस्तान यसपटक उच्च मनोबलमा देखिन्छ । उसका विश्व नम्बर एक खेलाडी बाबर आजम मुख्य हतियार हुने ठानिएको छ ।
जसले नेपालविरुद्ध १५१ रनको महत्वपूर्ण प्रदर्शन देखाएका थिए । साथै इफ्तिखार अहमद, मोहम्मद रिजवान, फाखर जमान, इमान उलहक र साधव खान पाकिस्तानी ब्याटिङका मुख्य हतियार हुन् ।
बलिङतर्फ भने साहिन शा अफ्रिदी, हरिश रौफ, नसिम शाह मुख्य हतियार हुन् । यी तीने खेलाडीले १५० किलोमिटर माथिको स्पीडमा बलिङ गर्छन् । पाकिस्तानी तेज बलरले भारतलाई धराशयी बनाउन सक्नेछन् । बलिङमा पाकिस्तानका साधव खान पनि स्पिनरमा अर्का हतियार हुन् ।
यता भारत भने विराट कोहली, रोहित शर्मा, इशान किसन, श्रेयश ऐयर, केएल राउलदेखि सूर्य कुमार यादव मुख्य ब्याटर हुन् । रोहित र विराटलाई रोक्न नसके उनीहरू पाकिस्तानविरुद्ध हाबी हुन सक्नेछन ।
। किनकी विराट र शर्मा दुवै आक्रमक र खतरनाक ब्याटर हुन् । यी मध्ये एक जना जतिमात्रै टिममा नपर्न सक्छन् । बलिङमा भने भारतका जसप्रित बुमराह, कुलदीप यादव, हार्दिक पाण्ड्या, मोहम्मद सामी र रविन्द्र जडेजा सम्भावित बलर हुन् ।
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Editor: Rita Budhathoki