काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले सहरका टहराहरुमा डोजर चलाएर आतंक मच्चाएका थिए । नगरप्रहरी प्रमुख राजुनाथ पाण्डे कालो चस्मा लगाएर सामान्य नागरिकले गुजारा चलाइरहेको टहरामा दादागिरी देखाउन पुगेको भिडियो युट्युबरले भाइरल बनाउने गर्छन् । उनै बालेन शाहको सरकारले काठमाडौं शहरका ठूला महल भने अवैध र नक्सापास विपरित ठडिएका भएपनि नजरअन्दाज गरिरहेको पाइएको छ ।
यो तस्विर हेर्नुहोस् त । नेपाली पहिचान झाल्काउने रातो इट्टाले ठडिएको यो बुटिक सिस महल माइतीघर हाइटमा ठडिएको २० वर्ष पुग्न लाग्यो । २०६२ सालमा काठमाडौं महानगरमा जम्मा ४ तले भवन बनाउने अनुमति लिएर शुरु भएको यो महल अहिले १० तलाको छ । चार तले भवनकै लागि नक्सापास समेत रहेको छ । तर, घरधनी केशर पुरीले शक्तिको आडमा महानगरपालिका र बालेन शाहलाई समेत धोती लगाइदिएका छन् । दियोपोस्टले तपाईंले चार तलाको नक्सापास गराएर १० तले महल कसरी ठड्याउनु भो ? भनि प्रश्न गर्दा उनले महानगरपालिकाको मौखिक सहमतिको आधारमा बनाएको बताए ।
‘हो, मैले महानगरपालिकाका कर्मचारीले मौखिक सहमति दिएपछि बनाएको हुँ । शुरुमा चार तलाकै नक्सा पास थियो । अहिले पनि त्यही नक्सापास छ । १० तले भवन छ,’ उनले भने ।
काठमाडौं महानगरपालिका वडा नं. ११, माइतिघर कित्ता.नं. २६३० र २२३१ मा रहेको ६ आना जग्गामा पुरीले अवैध रुपमा महल ठड्याएका छन् । पुरीले वडा नम्बर ११ मा चार तलाकै बराबर कर तिरिरहेर राज्यलाई लाखौँ रकम राजश्व समेत छली गरेका छन् । चार तलामा समेत उनले भाडा सम्झौता र व्यापार नै नदेखाई कर लुट मच्चाइरहेका छन् । पुरीले कित्ताकाट अगाडीको नक्सालाई आधार मानेर झूटो आम्दानी विवरण बुझाएका छन् । आफूलाई हिन्दुवादी अभियान्ता बताउने पुरीले भवनको तल पार्किङमा गाई पालन गरेका छन् । जबकी महानगरबाट भने उनले पार्किङका लागि अनुमति लिएका छन् ।
उनले पुरानो चार तले नक्सा र डिजाइनको आधारमा थोरै सम्पत्ति कर बुझाउने गरेका छन् । बाँकी रहेको छ तलाको कर र बहालकर उनले तिरेका छैनन् । त्यतिमात्रै होइन आम्दानी कर समेत उनले बुझाएका छैनन् । उनको राज्यमाथिको लुटधन्दामा महानगरका कर्मचारी र वडा कार्यालयले समेत साथ दिएका छन् । उनले भवन नक्सापास गराउँदा व्यक्तिगत प्रयोजनका लागि बनाएका छन् । दियोपोस्टलाई प्राप्त प्रमाण अनुसार नक्सापास र डिजाइनमा ‘रेसिडेन्सियल’ उल्लेख छ । यो भनेको व्यक्तिगत प्रयोजन हो । तर, उनले उक्त भवन व्यापारिक प्रयोजनलागि उपयोग गरेको बोर्डहरुमै देखिन्छ ।
यहासम्मकी पार्किङमा समेत सानो कोठा बनाएर रक्सी र चुरोट व्यापार चलाइरहेका छन् । भुइँ तलामा क्याफेदेखि नोटरी पब्लिक सम्मको कार्यालय छ । दोस्रो तलामा कलेज ओसन इन्जिनरिङ कलेज संचालनमा छ । पाँचौ तलामा स्वस्तिक हिमालयन ग्रुपको व्यापार छ । तर, महानगरलाई भने रेसिडेन्सियल भवनलाई व्यापारीक प्रयोजनमा लगाइएको थाहा समेत छैन ।
भवन मापदण्डअनुसार भुईतलादेखि छतसम्मको संरचना भवनको तलामा गनिन्छ । भवन नक्सा तथा निर्माणसम्बन्धी विशेष ज्ञान भएका एक इन्जिनियरका अनुसार कुनैपनि भवनको भुइतलादेखि छतसम्मको संरचना भवनको तलामा गनिन्छ ।
आफूलाई धार्मिक अवतारमा समेत चिनाउन रुचाउने पुरीले आफ्नो नााम समेत केशर पुरी ‘महाराज’ उपमा समेत दिएका छन् ।
उजुरी परेपछि कारबाही गर्छौं : प्रवक्ता तुलाधर
काठमाडौं महानगरका प्रवक्ता नविन तुलाधरले यस्तो विषयमा उजुरी परे महानगरले घर भत्काउने बताए । ‘उजुरी पर्ने वित्तिकै कारबाही हुन्छ,’ उनले भने ।