काठमाडौंको धापसीमा भेटियो शक्ति बस्नेतको करिब ७ करोडको घर

दियोपोस्ट संवाददाता

काठमाडौं । साम्यवाद एक त्यस्तो काल्पनिक समाज हो जहाँ तेरो मेरो भन्ने न कुनै देश हुन्छ न कुनै सीमा रेखा नै हुन्छ । समाजमा भएका सम्पुर्ण सम्पत्ति कुनै एक व्यक्ति वा समुदायको मात्र नभई साझाको हुन्छ । छोटोमा भन्दा सामुहिक जीवन प्रणालीको विचार अनि व्यवस्था हो साम्यवाद !

हिजोका दिनमा त्यही साम्यवादको सपना देखाएर युद्धमा होमिएका माओवादी नेताहरु अहिले भने विलासी जीवनमा रमाई रहेका छन् । तिनले देखाएको सपना अनि तिनले कसेको बिचारको धोक्रो बोक्न छोडेका छन् । छोट्करीमा भन्दा साम्यवादी नेता अहिले धन थुपार्ने होडमा छन् । यसका एक राम्रा उद्धाहरण हुन् आफुलाई सर्वहाराका नेता बताउने नेता शक्ति बहादुर बस्नेत । उसो त बस्नेत अहिले सम्म चार पटक मन्त्री भैसेका छन् । मन्त्री हुदाँ उनले जनताका काम गरे या गरेनन् त्यो उनैलाई थाहा होला । तर उनले काठमाडोंमा घर भने बनाउन सफल भएका छन् ।
नेता बस्नेतले टोखा नगरपालिकास्थित धापासी हाईटमा ६ करोड ६२ लाख मुल्यमा नयाँ घर किनेका छन् । उनले घर किनेको कुरा उनकै छिमेकीले बताएका छन् । हामीलाई प्राप्त कागजातमा उनले धापासीको प्लट नं अट – ३७५५ मा बनेको बङ्लो किनेका हुन् ।
नेता बस्नेतको पुर्खेली घर जाजरकोट हो । उनीले चुनाब लड्ने र जित्ने जिल्ला पनि जाजरकोट नै हो ।

यस विषयमा हामीले शक्ति बहादुर बस्नेतसँग बुझ्दा आफू अहिले पनि कोठा भाडामा नै बस्दै आएको र कुनै पनि घर खरिद नगरेको दाबी गरे । उनले भने,“मैले कुुनै घर किनेको छैन । म अहिले पनि कोठा भाडामा बस्दै आएको छु । मान्छेहरुले जुन घरमा बस्यो त्यही घर मेरो भन्ने ठान्छन् तर त्यस्तो होइन ।”
अहिले सबै परिवारका सदस्य काठमाडौंमै आएका कारण सिंगो घर नै भाडामा लिएर बस्ने गरेको बताउछन् । उनले कुनै घर नभएको र भाडामा बस्दै आएको दाबी गर्न पनि पछि हटेनन् । “म अहिले टोखामा भाडामा बसिरहेको छु । मेरो परिवार ठूलो छ त्यही भएर घर नै किनेर बस्छौं,” उनले भने ।

नेपालमा यसरी बिना स्रोत कुम्ल्याएको अकुत सम्पति भने परिवारका सदस्य तथा आफन्तका नाममा राख्ने चलन छ ।

जाजरकोटबाट संसदमा निर्वाचित भएका बस्नेत पहिलो पटक २०६८ सालमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भएका थिए । त्यसपछि उनी २०७२ सालमा गृहमन्त्री, २०७४ सालमा वन तथा वातावरणमन्त्री र २०७९ सालमा उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री थिए ।
घर किनेसंगै शक्ति बहादुर बस्नेत पनि गरिब जिल्लाका धनी नेता बन्न सफल भएका छन् ।

सम्बन्धित खबर